अख्तियारले घुससहित रंगेहात पक्राउ गरेका व्यक्तिलाई अदालतबाट सफाइ

विदुर खबर २०७४ चैत ८ गते १२:५३

काठमाडौं, ८ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ८० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेका व्यक्तिलाई विशेष अदालतले सफाइ दिएको छ ।
यातायात व्यवस्था विभागका निलम्बित प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विशेष अदालतले सफाइ दिएको हो ।
नेपालगन्ज नाका हुँदै विद्युतीय स्कुटर ल्याउन लागेको एक कम्पनीसँगलाई सिफारिस पत्र दिन १ लाख ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।
अख्तियारको टोलीले १६ पुस २०७२ मा पोखरेलाई काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयबाटै घुससहित पक्राउ गरेको थियो ।
नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएका ३६ थान विद्युतीय स्कुटरका लागि छुटको सिफारिस गरेबापत पोखरेलले घुस लिएका अख्तियारको भनाइ थियो ।
अख्तियारको टोलीले पक्राउ गर्र्दा पोखरेलले १ लाख ८० हजार रुपैयाँ कार्यालयको सोफामै फालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारी बताउँछन् ।
विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी र चण्डीराज ढकालको संयुक्त इजालशले भने पोखरेलले घुस लिएको विषयमा अख्तियारले प्रमाण जुटाउन नसकेको भन्दै उनलाई सफाइ दिएको छ ।
पोखरेलले प्रतिस्कुटर ५ हजार रुपैयाँ घुस मागेको भन्दै उनीविरुद्ध ०३ फागुन २०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले मुद्दा दर्ता भएयता १२ पटकको सुनुवाई पछि शुक्रवार पोखरेललाई सफाइ दिने फैसला सुनाएको हो ।

Advertisement

प्रतिक्रिया