नुवाकाेटमा बन्ने पृथ्वीनारायण संग्रहालय यस्तो छ (फोटो फिचर)

विदुर खबर २०७६ मंसिर २१ गते १८:५८

नुवाकाेट ।  विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण भईरहेको छ ।

Advertisement

विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गर्नुभएका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरूप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए । उनका अनुसार सात रोपनी जग्गामा पाँच करोड २८ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको सङ्ग्रहालय दुई वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय चारतलाको हुनेछ, जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिनेछ ।

Advertisement

भवन विभागमार्फत काम थालिएको र पुरातत्व विभागसँग सम्बन्धित नभए पनि काम सम्पन्न भएपछि समन्वय गरेर नुवाकोटसहित मुलुकभरमा रहेका शाहसँग जोडिएका र उनले प्रयोग गरेका तोप र हातहतियार, उनले दिएको दिव्योपदेशलगायतलाई सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने बताइएको छ ।

प्रतिक्रिया