प्याज किन्ने पैसाले शेयर किनौं

विदुर खबर २०७६ मंसिर २० गते १०:१९

शेयर बजारमा अहिले यस्ता बैंक तथा वित्तीय संस्था र कम्पनीहरूका शेयर छन्, जसले वार्षिक १० प्रतिशत लाभांश मज्जाले दिँदै आएका छन् र यस बर्ष पनि दिन सक्छन्, उनीहरूको भाउ २५० रुपियाँभन्दा तल झरेको छ। एक किलो प्याज किन्ने पैसाले लाभांश दिने र राम्रै कम्पनीको तीन कित्ता शेयर मज्जाले आउँछ।

Advertisement

यस्ता कम्पनीहरू तीन दर्जनको हाराहारीमा छन्, कुन कम्पनी कस्तो हो भनेर लगानीकर्ता स्वयंले गहन अध्ययन र विश्लेषण गरी एउटा हैन, १० वटा कम्पनीमा लगानी गर्नुपर्छ। गतवर्षहरूमा लाभांश नदिएका र यस वर्ष पनि दिन नसक्ने खराब कम्पनीहरूको शेयर जति सस्तो भए पनि किन्नु हुँदैन।

प्याज र शेयरमा फरक धेरै छ। आज किनेर ल्याएको प्याजले तरकारी र मासुलाई स्वादिलो त अवश्य बनाउँछ तर त्यो अर्को दिन दिसा बनेर गएपछि उपयोगिता सकिन्छ। प्याज बेच्नेले धेरै नाफा कमाएर धनी बनिरहेको हुन्छ। वास्तवमा त्यो प्याज नेपाली किसानहरूको उत्पादन पनि हैन, भारत र चीनबाट आयात हुने वस्तु भएकाले विदेशी मुद्रा बाहिरिन्छ। प्याज नराखे पनि तरकारी र मासु स्वादिलो नै हुन्छ। थप स्वादको आवश्यकता परे धनियाँको पात, लसुन र अरू सस्ता मसलाहरू उपयोग गर्न सकिन्छ। शेयर बजारमा सस्ता तर राम्रा कम्पनीको शेयर किनेर लाभांशमा आधारित लगानी विविधीकरण गर्ने हो भने त्यो पैसा हामीसँगै रहन्छ। आवश्यक परेको बेला शेयर बेचेर तीन दिनमा पैसा निकाल्न सकिन्छ।

Advertisement

प्याज किन्नुको सट्टा लाभांश दिने सस्ता कम्पनीका शेयर किन्ने हो भने भोलि कैयौं केजी प्याज किन्न सकिने गरी लगानीकर्ताको भविष्य बन्न सक्छ। कम्पनीले दिने लाभांशले लगानीबापतको ब्याज सजिलै धान्छ भने भविष्यमा हुने पूँजीगत लाभले प्याजै प्याजको भण्डार किन्छु भन्नेलाई पनि लगानीयोग्य रकम मज्जाले उपलब्ध हुन्छ। सर्वसाधारण लगानीकर्ताले यदि आफूलाई भविष्यमा धनी बनाउन चाहन्छन् भने प्याज बजारमा जान बन्द गरी अहिले शेयर बजारमा शेयर सस्तिएको बेलामा धमाधम छानी–छानी सस्ता तर राम्रा कम्पनीको शेयर उठाउँदा राम्रै हुन्छ। प्याजको भाउ बढ्यो भनेर हल्ला र रुवाबासी गर्नेहरूलाई छाडिदिऊँ, उनीहरू त्यसै गरिरहून्। प्याजको भाउ कसरी घटाउने भन्ने जिम्मा हाम्रो हैन, अर्थमन्त्री युवराज खतिवडाको हो। किनभने उनले शेयरको भाउ पनि कसरी अरू घटाउने भनेर गज्जबको जुक्ति निकालेका थिए र अहिलेको अवस्था आएको हो। अब प्याजको जिम्मा पनि उनैलाई दिऊँ र हामी चाहिँ शेयर बजार छिरौं।

प्रतिक्रिया