७ रुपैयाँको निर्यात, ९३ रुपैयाँको आयात

विदुर खबर २०७४ चैत ७ गते ४:१८

काठमाडौँ, ७ चैत- वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरणसमेत हुन नसक्दा आयात–निर्यात अनुपात फराकिलो बन्दै गएको हो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेर ४७ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ । यसरी आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा रहेको तथ्यांकले देखाएको छ । स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, आयात प्रतिस्थापन गर्न सरकारसँग कुनै ठोस योजना नहुनु र भएका योजनाको पनि कार्यान्वयनमा समस्यालगायतका कारणले आयात दिनप्रतिदिन बढ्दै गएको छ ।
केन्द्रका कार्यकारी निर्देशन शरदविक्रम राणाले आयात प्रतिस्थापन गर्ने योजना सरकारले प्राथमिकतामा राखे पनि दिनप्रतिदिन व्यापार घाटा बढ्दै जानु चिन्ताको विषय भएको बताए, कारोबार दैनिकमा खबर छ ।

Advertisement

प्रतिक्रिया