उपनिर्वाचन : ५२ पदका लागि आज मतदान हुँदै

विदुर खबर २०७६ मंसिर १४ गते ८:५३

नुवाकोट । प्रतिनिधि सभा,, प्रदेश सभा र स्थानीय तहका गरी ५२ पदका लागि शनिबार (आज) उपनिर्वाचन हुँदैछ। ३७ जिल्लाका विभिन्न स्थानमा उपनिर्वाचन हुन लागेकाे हाे।

Advertisement

निर्वाचन आयाेगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएकाे छ। मतदाताले अपराह्न ५ बजेसम्म सम्बन्धित मतदानस्थल पुगेर मतदान गर्न सक्ने छन्। आयाेगले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेको छ। उपनिर्वाचनका लागि ५ हजार २ सय ५२ कर्मचारी खटिएका छन्।

अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने प्रबन्ध मिलाउन आयाेऊले निर्देशन दिएकाे छ। आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन्।

Advertisement

आयाेगका अनुसार प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ। प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नं. २, प्रदेश सभाको भक्तपुर १ (१), बागलुङ २ (२), दाङ ३ (२) मा उपनिर्वाचन हुँदैछ। स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ। संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान हुँदैछ। त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज मतदान हुँदैछ। २०७४ सालका विभिन्न मितिमा ती स्थानमा निर्वाचन भएको थियो।

Advertisement

 

प्रतिक्रिया