नेपाल विमान दुर्घटनाः २३ वटा शव बांग्लादेश पठाइयो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2018/03/100474581__mg_1676.jpg)
गत हप्ता भएको यूएस-बांग्ला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट सोमवार बांग्लादेशको राजधानी ढाका पठाइएको छ। बांग्लादेशी नागरिकहरूको शव लिन बांग्लादेश विमान वाहिनीको विशेष उडान काठमाण्डू आएको थियो। नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाण्डूस्थित बांग्लादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए।
दूतावासका कन्सुलर अल अलेमुल इमामका अनुसार नेपाली पक्षले मृतकको पहिचानपछि हस्तान्तरण गरेका बांग्लादेशी नागरिकको शव बोकेको विमान अपराह्ण २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो। उनका अनुसार ती शवहरू ढाकाको विमानस्थलबाट सैनिक रङ्गशाला लगिनेछ जहाँ विशेष प्रार्थनासभा आयोजना हुँदैछ।
सो कार्यक्रममा प्रधानमन्त्री शेख हसिना पनि सहभागी हुने बुझिएको छ।
“प्रार्थनासभापछि शवहरू मृतकका आफन्तलाई हस्तान्तरण गरिने योजना छ,” इमामले भने।
नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार तीन जना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी छ।
पहिचान
पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताए।
काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमवार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।
घाइते
दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए।
तीमध्ये आठ बांग्लादेशी नागरिकलाई थप उपचारका लागि ढाका र दुई जनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए।
यूएस-बांग्ला एअरलाइन्सका नेपालस्थित प्रतिनिधि संजीव घिमिरेका अनुसार हाल घटनामा घाइते भएका ११ मध्ये पाँच जना काठमाण्डूका अस्पतालमा छन्। अरू घर फर्किसकेका छन्।
घाइतेमध्ये एक नेपालीलाई थप उपचारका लागि सिङ्गापुर पठाइने जानकारी घिमिरेले दिनुभयो ।BBC नेपाली
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया