त्रिशूली ३ ‘बी’को ४० प्रतिशत काम सम्पन्न

विदुर खबर २०७६ मंसिर ३ गते २०:१०

नुवाकोट  । २०७७ फागुन मसान्तभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य राखेको माथिल्लो त्रिशूली ३ बीको निर्माण कार्य ४० प्रतिशत सकिएको छ ।

Advertisement

विद्युत् गृहसहित अधिकांश भाग किस्पाङ गाउँपालिका–५ मा रहेको आयोजनाको सुरुङ खन्ने, विद्युत्गृह, सर्च ट्यांक, पेनस्टकको प्रारम्भिक निर्माण कार्य भइरहेको छ । अहिलेसम्म १२ सय मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ ।इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो ।

यो आयोजना नुवाकोट र रसुवामा निर्माण भइरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री एको क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्री बीले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउन पर्दैन ।

३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीको मुख्य लगानीमा त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो । ‘मुख्य सुरुङ निर्माण भइहेको छ,’ कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमले भने, ‘अहिले ४० प्रतिशत कामको प्रगति भएको छ ।’ प्राधिकरण र नेपाल टेलिकमले ३०/३० प्रतिशत सेयर हालेका छन् । कम्पनीमा रसुवा र नुवाकोटका स्थानीय तहहरूको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत तथा प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।
सुक्खायाममा (मंसिर १६ देखि जेठ १५) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ । आयोजनाको विद्युत्गृहबाट ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रीबी सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।
Advertisement

प्रतिक्रिया