सभामुखलाई उत्तर कोरिया भ्रमणको निम्तो, किम किम इल सङको घर हेर्ने महराकाे धाेकाे

विदुर खबर २०७४ चैत ४ गते १३:२८

काठमाडौं, ४ चैत– सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले शिष्टाचार भेट गरेका छन् । आज (आइतवार) सभामुखको कार्यालय सिंहदरबारमा कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत चोई ते पोकले छुट्टा–छुट्टै भेटवार्ता गरेका हुन् ।
सभामुख महराले दुवै राजदूतहरुसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्नेमा जोड दिएका थिए । भेटघाटका क्रममा दुवै देशका राजदूतले सभामुख पदमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरे ।
सभामुखसँगको भेटमा कतारका राजदूत युसुफ बिन मोहम्मद अलले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध बिस्तार गरेर लैजाने बताए ।
त्यस्तै उत्तर कोरियाका राजदूत चोई ते पोकसँगको भेटमा सभामुख महराले कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताए । पछिल्लो समय वार्ताका माध्यामबाट उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध सुध्रिँदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गरे ।
भेटवार्ताको अवसरमा पोकले सभामुख महरालाई उत्तरकोरिया भ्रमणका लागि आग्रह गरेका थिए । जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न आफू इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताए ।
‘म उत्तरकोरियाको भ्रमण गर्न इच्छुक छु, अनुकूलता हेरेर सभामुखकै कार्यकालमा भ्रमण गर्नेछु,’ महराले भने, ‘त्यहाँ पुगेर किम इल सङको घर, जंगलभित्रको म्यूजियम र उत्तरकोरियाको विकास अवलोकन गर्ने चाहना छ ।’

Advertisement

प्रतिक्रिया