प्रहरीको सक्रियतामा मलावीबाट बन्धक बनाइएका नेपाली सकुशल फर्किए

विदुर खबर २०७६ कार्तिक २७ गते १७:४९

पर्वतका आलोक थापा (२४) लाई गत वर्ष दशैं अगाडि घरबाट हिड्ँदा यस्तो हुन्छ भन्ने लागेको थिएन । उनले सोचेका थिए- योजनाअनुसार नै अमेरिका पुगिन्छ । र, काम र दाम खोजेजस्तै हुन्छ ।

Advertisement

“बोलेभिया जाने भए भारु सात लाख रुपैयाँ तिर्न भन्दै तनाव दिइरहन्थ्यो”, उनी भन्छन्, “पैसा तिर्न नसकेपछि हामीलाई बन्धक बनाइयो।“उनीहरूको कोठामा छिरेर केही व्यक्ति ‘मनी मनी’ भन्दै अनुहारमा ताकेर हिर्काउँथे । बन्धक बनाउनेले पैसा दिन नसके मिर्गौला झिकेर मारिदिने धम्की पनि दिन्थे । पाँच दिन अघि (कात्तिक २१ मा) बन्धक बनाउनेहरूले आलोकसहितका युवाको जीवनको मिति तोके । एक घण्टा, ४५ मिनेट, ३० मिनेट भन्दै बन्धक बनाउनेले गन्ती थालिसकेका थिए । तर, एक्कासी उनीहरूलाई उद्दार गर्न मलावी प्रहरी पुगेको थियो । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको समन्वयमा उद्दार भएपछि यी ६ जनाको ज्यान त जोगियो । तर, उनीहरुको अमेरिका जाने सपना भने बिचबाटैमै तुहियो ।

उनीहरू मध्येका दिनेश अझै हार मानेका छैनन् । उनी भन्छन्, “केही समय पछि फेरि विदेश जान्छु, पैसा कमाउछु, अनि ऋण पनि तिर्छु ।” अमेरिकाको सपना बोकेर पूर्वी अफ्रिकी मुलुक मलावी पुग्दासम्म कति पैसा खर्च भयो, त्यो भने उनीहरूले भन्न चाहेनन् । तर, उनीहरुको जवाफ भने एउटै छ— “बाँचेर फर्कियौँ, ऋण जसरी पनि तिर्छौँ ।“

Advertisement

बाटैमै एक वर्ष

दुई वर्ष अघि दुबईबाट फर्किएका आलोकका धेरैजसो साथी तथा आफन्त अमेरिका, केन्या र अफ्रिकामा  छन् । अमेरिकामा रहेका साथीले उनलाई अमेरिका आउने उपाए सुझाएका थिए । उनी मार्फत् नै आलोक दक्षिण अमेरिकी देश बोलेभिया पठाउने एक भारतीय एजेन्टको सम्पर्कमा पुगे ।

Advertisement

एजेन्टले बोलेभियाबाट अमेरिका तथा ब्राजिल छिर्न सकिन्छ भने पछि उनले जसरी पनि अमेरिका जाने अठोट लिए । उनीसँगै अविन क्षेत्री(२२)पनि बोलेभिया जाने भए ।

एक वर्षअघि उनीहरू नेपालबाट थाइल्यान्ड हुँदै भियतनामका लागि उडे । तर, संयोग एउटै जिल्लाबासी भए पनि अपरिचित उनीहरू नेपालबाट भियतनाम पुग्दा साथी बनिसकेका थिए । सबैको सपना एउटै थियो- अमेरिका ।

उनीहरू नेपालबाट भियतनाम पुगे । त्यहाँ पुगेपछि अर्का नेपाली भेटिए दिनेश कटुवाल(३०) । धेरै पैसा कमाउन दुबईको राम्रो जागिर छाडेर उनी दक्षिण अमेरिकाको बोलेभिया हिँडेका थिए ।

उनीहरूलाई बोलेभिया लैजाने एजेन्ट एउटै थिए । नेपालबाट भिजिट भिसामा भियतनाम पुगेपछि त्यहाँ उनीहरूलाई एउटै होटलमा राखियो । २२ दिन उनीहरू त्यहीँ बसे । त्यसपछि इथोपियाको राजधानी अदिसअबाबाको एक होटलमा आफूहरूलाई राखिएको दिनेश बताउँछन् । त्यहाँ पनि खाने, बस्ने र घुम्ने व्यवस्था थियो । “समय बितेको पत्तै भएन, त्यहाँबाट उडाउँछु भनी ४ महिना झुलायो”, अविन सुनाउँछन् ।

त्यहाँबाट भने उनीहरूको बाटो मोडियो । अलोक दुबई लागे भने बाँकी तीन जनालाई मेडागास्करतिर लागे । २५ दिनसम्म उनीहरू होटलमा बसे । त्यहाँ पनि बस्न र खान राम्रो व्यवस्था थियो । पकेट मनी पनि दिने गरेको सुरज पुन बताउँछन् ।

फेरि त्यहाँबाट उनीहरूलाई भिसा थप्न भनी जोर्डन लगियो । जोर्डन पुगेपछि उनीहरू चारै जनाको फेरि भेट भयो । त्यहाँ उनीहरूलाई अपार्टमेन्टमा राखिएको थियो । “महिनौं बितिसके पनि बोलेभिया पुग्छौँ भन्ने आाश थियो”, दिनेश भन्छन्, “त्यहाँसम्म पुग्दा कुनै कष्ट सहनु परेन ।“

३५ दिनपछि फेरि चारै जनालाई दुबई फर्काइयो । एजेन्टले पैसा दिन्थ्यो, अपार्टमेन्टमा उनीहरू आफैँ पकाउँथे र खान्थे । दुई महिना उनीहरू दुबईमै बसे ।

त्यसपछि उनीहरूलाई अजरबैजन लगियो । उनीहरूले त्यहाँ १८ दिन बिताए । १८ दिनपछि उनीहरूलाई मलावी लगियो । त्यसपछि सुरु भएको उनीहरूको दुःख । “अहिलेसम्म रमाइलो गरिरहेकै थियौँ”, दिनेश भन्छन्, “दुख पाएकै यहीँबाट हो ।”

अक्टोबर २ मा उनीहरू मलावी पुगेका थिए । ७ वटा देश पुग्दासम्म पनि लिन नआएका एजेन्ट मलावी पुग्ने बित्तिकै एअरपोर्टमा रिसिभ गर्न पुगेका थिए । त्यहाँ बसेको १५ दिनपछि उनीसँग पैसा माग्न थालियो । कुटपिट र मानसिक यातना दिन थालियो । पासपोर्ट खोसेर बाहिर समेत निस्किन दिएनन् ।

मलावीबाट फिर्ता

एक महिनासम्म बन्धक भएपछि उनीहरूले बल्ल आफू ठगिएको थाहा पाए । परिवारसँग पैसा माग्ने बहानामा उनीहरूले घरमा ह्‍वाटस्एप मार्फत् कुरा गरे । र, आफूहरू ठगिएको जानकारी गराए । परिवारका सदस्यले मानव बेचविखन ब्यूरोलाई खबर गरे । ब्यूरोका अधिकारी आफैं पनि उनीहरूको सम्पर्कमा थिए । ब्यूरोका डीएसपी नरहरि रेग्मीले घटनाविवरण र उनीहरूका ह्वाट्सएप म्यासेज मलावी प्रहरीलाई पठाएका थिए । यसैका आधारमा लोकेसन ट्र्याक गरी मलावी प्रहरी त्यहाँ पुगेको थियो ।

यो कुरा एजेन्टले भने चाल पाउन सकेका थिएनन् । ब्यूरोको टोलीले मलावी प्रहरीसँग समन्वय गरी उनीहरू बसेको लोकेसन ह्वाट्स एपबाट ट्र्याक गरेर मलावी प्रहरीले उनीहरूको उद्दार गरेको थियो ।

उद्दार गरिएका ६ जना मध्ये चार जना सोमबार साँझ नेपाल आइपुगेका छन् । बाँकी दुई जनालाई पनि नेपाल फर्किने तयारीमा छन् ।

मलावी प्रहरी र मानव बेचविखन अनुसन्धान ब्यूरोबाट मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहहरूको अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

प्रहरीले भारतीय मूलका मलावीयन नागरिक नाजिर अहमदलाई पक्राउ गरेको छ ।

(पीडितहरूको नाम ठेगाना परिवर्तन गरिएको छ ।)

प्रतिक्रिया