लाङटाङ र गोसाइँकुण्ड जोड्दै हेलम्बु पदमार्ग

विदुर खबर २०७६ कार्तिक १४ गते ८:५०

सिन्धुपाल्चोक । रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणले तीव्रता पाएको छ  ।

Advertisement

पर्यटन विभागको दुई करोड लागत र हेलम्बु गाउँपालिकाको समन्वयमा हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लाङटाङ जोड्ने ३० किलोमिटरमा हालै १५ किमिको काम भइसकेको छ  । पुरानो पदमार्ग मानिने हेलम्बु, गन्जलापास, रसुवाको लाङटाङ ४० किमिमा मर्मतसम्भारको काम बाँकी रहेको हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘प्रमुख पर्यटकीयस्थल लाङटाङ र चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जोड्ने दुई प्रमुख पदमार्गबाहेक हृयोल्मो धार्मिकस्थल जोड्ने दर्जनौं पदमार्ग बन्दैछन्,’ प्रमुख शेर्पाले भने । शाक्यमुनि बुद्धपछिका दोस्रो बुद्ध मानिएका गुरु रिन्पोछे या पद्मसम्भव, तिब्बती महायोगी मिलारेपा तपस्यास्थल, पुराना गुम्बादेखि आमायांग्री (धनकी देवी) सम्मको ‘ट्रेकिङ रुट’ अझै कायम रहेको उनको भनाइ छ ।

पुरानो हृयोल्मो सभ्यता र धार्मिक महत्व बोकेको हेलम्बुको दुई दर्जन पदमार्गमा भूकम्पले क्षति पुर्‍याएको थियो । गाउँलाई सुगम बनाउने सडक लगिरहँदा पर्यटकीय पदमार्गलाई केही खलबल्यायो । भूकम्पको चार वर्षपछि गाउँपालिकाले पुरानो पदमार्गको मर्मतसम्भार र महत्वपूर्ण दुई पदमार्गको निर्माणलाई तीव्रता दिएको हो । हेलम्बु र पाँचपोखरीको सीमाक्षेत्र हृयोल्मो देवी आमायांग्री, पाल्चोक माईदेखि झिचेन मिलारेपासम्म पदमार्ग बनाउने योजनामा रहेको प्रमुख शेर्पाले जानकारी दिए । उनका अनुसार सुन्दरीज, कुटुम्साङ–घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, शेर्माथान–पाल्चोक भगवतीजस्ता दर्जन पदमार्गको हालै स्तरोन्नतिको काम भइरहेको छ । चीनको ग्रेटवाल हेरेर हृयोल्मो धार्मिक कथनसँग जोडिएको धर्मचक्र पर्खाल ‘हिमालयन ग्रेट ट्रेल’ लाई पदमार्गसँगै एक करोड बजेटबाट जोडिँदै छ ।

Advertisement

लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले हृयोल्मो परम्परा, धार्मिकस्थल डुब्कुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमथाङ हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’को कार्ययोजना हेलम्बु गाउँपालिकाले बनाएको छ । हेलम्बु वडा १ का अध्यक्ष मिङमार लामाले हृयोल्मो ग्रन्थअनुरूप पवित्र मानिने ‘छुहृयालागेन्जेन’ एक सय आठवटा पानीको मुल फुटिरहेको या बालुवा भएको चौर ताल, अम्बाथान झरना र हेलम्बु खोलाको मुहान हेर्न पाइने बताए ।गुम्बैगुम्बाको शेर्माथान, हृयोल्मो बस्ती मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङुल, झिचेन मिलारेपा र पद्मसम्भवले तपस्या गरेको गुफा ढुक्पु, गुरु रिन्पोछे छाप वा पाइला, तेम्बाथाङ, आमायांग्री, चिरीगुम्बा, पाल्चोक भगवती, कुटुम्साङजस्ता आकर्षकस्थल हेलम्बुमा हेर्न सकिन्छ ।

हेलम्बुको तेम्बाथाङमा ठडिएको हृयोल्मो एकीकृत बस्तीसँगै पुनर्निर्माणमा ध्यान दिन हेलम्बुका जनप्रतिनिधिले होमस्टे पुनर्निर्माण अनुगमन गरेका थिए । अत्यधिक खर्चिलो हुने भएकाले अधिकाशंले मर्च्यागुम्बे शैलीमा ‘नाम्घोघोसुम’ झ्यालमात्रै बनाएर संस्कृतिलाई धान्दै आएको हेलम्बु गाउँपालिकाकी उपप्रमुख कोपिला पण्डितले बताइन् । ‘संस्कृतिको महत्वलाई बुझेर हृयोल्मो संस्कृतिको घर बनाउने पनि थुप्रै छन्, पहिलेझै संस्कृतिका घरमा होमस्टे योजना ल्याएका छौं,’ उनले भनिन् ।

Advertisement

प्रतिक्रिया