आज कुकुर तिहार, कुकुरको पूजा नगरे ‘पापी’ भइने विश्वास

विदुर खबर २०७६ कार्तिक १० गते ८:४९

नुवाकोट । हिन्दू नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार । कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाइन्छ ।

Advertisement

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।
कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावर पनि हो । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।

कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

Advertisement

आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ । आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ । तिहारको दोस्रो दिन आज कुकुर तिहार हो । तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवद्र्धन पूजा र अन्तिम दिन भाइटीका गरी तिहार पाँच दिन मनाइन्छ । तिहारको लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । यम पञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह(अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।

प्रतिक्रिया