हेटौँडाका होटलमा अनुगमन, अखाद्य वस्तु नष्ट

विदुर खबर २०७६ कार्तिक ७ गते १८:५२

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा खटिएको संयुक्त अनुगमन टोलीले त्रिभुवन राजपथ चौकीटोल, हेटौँडा–नारायणगढ सडकखण्डको थानाभर्‍याङ र स्थानीय बसपार्कमा रहेको विभिन्न होटल र मिठाइ पसल गरी २० वटा पसलमा आज स्थलगत अनुगमन गरी अखाद्य वस्तु मिसावट र अन्य खानेकुरा जफत गरेको छ ।

Advertisement

अनुगमन टोलीले कान्तिराजपथमा रहेको अनमोल स्वीटस् मिठाइ पसलमा अखाद्य वस्तु मिसावट मिठाइहरु, स्थानीय बसपार्कमा रहेको खाजाघरमा राखिएको गुणस्तरहीन एवं बासी चाउमिन, चना, मासु फ्राई, अण्डा, आलुचप र राजमार्गमा रहेको होटलमा भेटिएको बासी खानालगायत पेय पदार्थ पनि जफत गरी नष्ट गरिएको जिप्रकाका प्रतिनिधि सहदेव आचार्यले बताउनुभएको छ ।

अनुगमनका क्रममा राजमार्गमा रहेको विभिन्न होटलमा यात्रुले देखिने गरी खानाको मूल्यसूची राखिनुपर्ने, भान्छाघरलाई स्वच्छ बनाई यात्रुलाई स्वच्छ खाना उपलब्ध गराउनुपर्ने र होटलको गुणस्तरलाई कायम राख्न थप सरसफाइ गरी खाद्य सामग्री सात दिनभित्र भण्डारण गर्न निर्देशन दिएको र अर्कोपटक अनुगमन गरिँदा सो सुझाव दिएअनुसारको फेला नपरेमा कानूनी कारवाही अगाडि बढाइने क्षेत्रीय गुण नियन्त्रण प्राविधिक कार्यालयका प्रमुख सोमकान्त रिजालले बताउनुभएको छ ।

Advertisement

शुक्रबार स्थानीय हेटौँडा बजार, मनहरी, लोथर बजारमा आकस्मिकरुपमा अनुगमन गर्न विभिन्न टोली खटाइएको जिप्रका मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया