विमान दुर्घटनाका मृतकहरुको स्मृतिमा दीप प्रज्ज्वलन

विदुर खबर २०७४ चैत २ गते ४:०६

चितवन । फागुन २८ गते काठमाडौँमा भएको यूएस बंगला विमान दुर्घटनाबाट देशले ठूलो क्षति व्यहोर्नु प¥यो । उक्त दुर्घटनाबाट ५१ जनाले अकालमै ज्यान गुमाए । उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा भरतपुरमा बिहीबार साँझ दीप प्रज्जवलन गरिएको छ ।

Advertisement

वी आर द युथ (वे ग्रुप), ब्लड डोनर ग्रुप नेपाल (रक्तदाता समूह नेपाल) र श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

चितवन अस्पतालको मुख्य गेट अगाडिको पेटीमा बंगलादेशबाट उडेको विमान नेपालमा आएर दुर्घटना भएको सांकेतिक चित्र र दुर्घटनामा ज्यान गुमाएका चितवनका न्यूरो सर्जन डा बालकृष्ण थापाको फोटो बनाएर दीप बालेका थिए । डा थापा बंगलादेश गएर नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने क्रममा विमान दुर्घटनामा परेका थिए । वे ग्रुपका सदस्य सागर गौतमले बिहीबार दिनभर लगाएर उक्त चित्र बनाएका थिए । यस्तै चौबिसकोठी चोकमा श्रीमेडिकल एण्ड टेक्निकल कलेजका विद्यार्थीहरूले पनि चितवनले दक्ष चिकित्सक गुमाउनु परेको भन्दै नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका थिए ।

Advertisement

नेपालमा पटकपटक विमान दुर्घटना भइरहेको भन्दै अबका दिनमा यस्तो घटना नदोहोरियोस् भन्दै कामनासमेत गरेका छन् । ‘यो दुर्घटनाले दुई देशलाई रूवाएको छ,’ वे ग्रुपमा सदस्य भोजनारायण कँडेलले भने, ‘अबका दिनमा यस्तो दुर्घटना भोग्न नपरोस् ।’ समूहले यसअघि सिरियामा भएको नरसंहार विरूद्ध पनि शहीदचोकमा चित्र कोरेरै दीप बालेका थिए । नेपालले अपुरणीय क्षति व्यहोर्नुपरेको भन्दै रक्तदाता समूह नेपालका संस्थापक शिवप्रसाद घिमिरेले भने, ‘पटकपटक विमान दुर्घटना भइरहेकोले नेपाल सरकारले विमानस्थलबारे सही निरीक्षण गरेर दुर्घटना हुुनबाट जोगिने उपाय खोज्नुपर्छ ।’

कार्यक्रममा उपस्थित सबैले दुर्घटनामा ज्यान गुमाएकाहरूको तस्बिर छातीमा राखेर श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा सहभागी सबैले नेपालका दक्ष जनशक्ति गुमाएको भन्दै दुःख व्यक्त गरे ।

Advertisement

प्रतिक्रिया