रुस र चीनले उत्तर कोरियासँगको वार्तालाई प्रोत्साहन गर्दै

विदुर खबर २०७४ चैत २ गते १:१६

एजेन्सी । चिनियाँ राष्ट्रपति शि जिङपिङले उत्तर कोरियासँगको शान्तिपूर्ण सहकार्यलाई चीनले सधैँ समर्थन गर्ने बताएको दक्षिण कोरियाली अधिकारीले बिहीबार जानकारी दिएका छन् । त्यसैगरी उत्तर कोरियाको अर्को छिमेकी देश रुसले पनि दक्षिणलाई यस विषयमा धेरै प्रोत्साहन गर्दै आएको उनीहरुको भनाइ छ ।

Advertisement

गत हप्ता दक्षिण कोरिया, अमेरिका र उत्तर कोरियाबीच भेटवार्ताको कार्यक्रम हुने बताइएसँगै राष्ट्रिय सुरक्षा अधिकारी छङ वी योङले यो सफलताको खबर पहिले बेइजिङ र मकाउमा सुनाएका थिए । यस अवस्थालाई चिनियाँ अभिव्यक्तिसँग जोडेर जिङपिङले भनेका छन्, ‘कडा बरफ पग्लिएपछि मात्र वसन्तको आगमन हुन्छ र फुल फुल्न थाल्दछ ।’ यस्तो बयान दिँदै जिङपिङले कोरियाली प्रायद्विपमा अहिले जारी शान्ति प्रक्रियासँग आफू धेरै खुसी भएको प्रतिक्रिया दिएको छङले संचारकर्मीसँग बताएका हुन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली प्रतिनिधिसमक्ष अमेरिकाको सबै शर्त पूरा गर्न सहमति जनाएपछि राष्ट्रपति ट्रम्पले वार्ताको प्रस्ताव सहजै स्वीकार गरेका हुन् । यस खबरसँगै किम र ट्रम्पबीच आगामी मे मै भेटवार्ता हुने तय भइसकेको छ ।

Advertisement

उता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने अप्रिलको अन्त्यतिर नै किमसँग प्रत्यक्ष बैठक बस्ने बताएका छन् । जापानबाट यसबारे राम्रो प्रतिक्रिया नआइरहेको भएपनि उत्तर कोरियासँग निकटको सम्बन्ध राख्ने चीन र रुसले यस खबरप्रति खुसी व्यक्त गर्दै आएको रोयटर्सले जनाएको छ ।

पहिलेदेखि नै यी दुवै मुलुकले अमेरिका लगायत संयुक्त राष्ट्रलाई उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनु भन्दा वार्ता र छलफलले समस्या सुल्झाउन सुझाव दिँदै आएका थिए । अर्कोतर्फ प्योङयोङले भने दक्षिण कोरियाका अधिकारी भ्रमणबाट फर्किएदेखि नै यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

Advertisement

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले खबरमा उल्लेख गरे अनुसार बिहिबार उत्तर कोरियाका विदेश मन्त्री बेइजिङ विमानस्थलमा देखा परेका थिए र उनी स्वीडेनतर्फ जाने तयारी गरिरहेको अनुमान गरिएको छ ।

स्वीडेनको स्थानीय संचारले गत हप्ता नै मन्त्री रि योङहो आउनेबारे जानकारी दिएको थियो । उत्तर कोरियाको दुतावास समेत रहेको स्वीडेनसँग पनि प्योङयोङले राम्रो कुटनीतिक सम्बन्ध कायम गर्दै आएको छ । त्यसकारण पनि अहिलेसम्मको अवस्था हेरेर ट्रम्प र किमबीचको बैठक स्वीट्जरल्यान्ड, स्वीडेन वा दक्षिण कोरियामा हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया