मकवानपुरका स्थानीय तहले भवन बनाउँदै

विदुर खबर २०७६ असोज ३० गते १८:१४

हेटौडा । मकवानपुरका स्थानीय तहले कार्यालय सञ्चालनका लागि भवन निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

Advertisement

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसके पनि धेरै गाउँपालिकाले भवन अभावका कारण भाडामा बसेर नै सेवा प्रवाह गरिरहेका थिए ।जिल्लामा १० स्थानीय तहमध्ये अधिकांश स्थानीय तह भाडाका भवनमा सञ्चालन भइरहेको र आफ्नो भवन नहुँदा कार्य सञ्चालन र सेवा प्रवाहसमेतलाई समस्या परिरहेका कारण स्थानीय तहले भवन निर्माणको क्रमलाई तीव्रता दिएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा ठूलो हेटौँडा उपमहानगरपालिकाले आफ्नै पुरानो भवनबाट कार्य सञ्चालन गरिरहेको छ तर थाहा नगरपालिकाले भर्खरै बनेको नयाँ भवनमार्फत कार्यसञ्चालन गर्दै आएको छ । भवन अभावले गुज्रिएका जिल्लाका अन्य आठ वटा गाउँपालिकाले अहिले आफ्ना सुविधा सम्पन्न र वर्तमान संरचना अनुकूलका भवन निर्माण गरिरहेका छन् ।

चालू आवमा प्रायः सबै स्थानीय तहले कार्यालय भवन निर्माणलाई नै प्राथमिकतामा राखेका छन् । गत आवदेखि नै जिल्लाको पूर्वी वाग्मती गाउँपालिकाले कार्यालय भवन निर्माणपश्चात् सोही भवनबाट सेवा सञ्चालन गरिरहेको छ भने यसै वर्षदेखि बकैया गाउँपालिकाले पनि नवनिर्मित भवनमा कार्यालय सारिसकेको उक्त गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले भने अहिलेसम्म भवन निर्माण शुरु नगरेको तर चालू आर्थिक वर्षमा नै शुरु गर्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयोे । चालु आवमा भवन निर्माणका लागि रु चार करोड बजेट विनियोजनसमेत गरिएको उहाँको भनाइ थियो ।

Advertisement

यसैगरी कैलाश गाउँपालिकाले पनि आफ्नो भवन निर्माणका लागि रु एक करोड ५० लाख विनियोजन गरेको छ भने मकवानपुरगढी गाउँपालिकाले पनि आफ्नै भवन बनाउने तयारीमा रहेको, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकाले पनि चालू आर्थिक वर्षमै भवन निर्माण गर्ने भएको र भीमफेदी गाउँपालिकाको भवन निर्माणको काम धमाधम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया