दशैँमा इन्धनको अभाव हुँदैनः निगम

विदुर खबर २०७६ असोज १७ गते २०:२८

नुवाकोट । नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

Advertisement

पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ । फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले आज उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ । थानकोट डिपोबाट आज ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । फूलपातीका दिन निगमका सबै डिपो नियमितझै खुला रहनेछन् । “निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ, आयात नियमित रहेको छ”, उहाँले भन्नुभयो, “पेट्रोलपम्पले मागे जति नै इन्धन उपलब्ध गराएका छौँ, इन्धनको कुनै अभाव हुँदैन ।” दशैँलाई लक्षित गर्दै विगत तीन÷चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ ।

निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ । उपत्यकाका सबै पेट्रोल पम्पबाट सहजरुपमा इन्धन बिक्री भइरहेको छ । उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण इन्धन भर्नेको केही चाप देखिए पनि कुनै पनि पेट्रोल पम्पमा लाइन बस्नुपर्ने अवस्था छैन ।

Advertisement

प्रतिक्रिया