हुवासिन सिमेन्टको काम सुरु, दुई नयाँ कम्पनीले काम पाए

विदुर खबर २०७६ असोज १५ गते ६:३०

धादिङ ।  धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगको काम पुन: सुचारु भएको छ। उद्योगले निर्माण कम्पनी फेरेर काम सुचारु गरेको हो।

Advertisement

तीब्र गतिमा निर्माण भैरहेको हुवासिन सिमेन्टमा ‍असार २९ गते पसेको बाढीले उद्योग निर्माणमा ब्रेक लागेको थियो।  उद्योगमा बाढी पसेको २ महिनापछि पुन काम सुचारु भएको हो। उद्योगले पहिले काम हान्दान सिनोमा कन्सल्ट्यान्टलाई हटाएर नयाँ दुई कम्पनीलाई जिम्मा दिएको हो। उद्योगका अनुसार अब सी चुयान या हुई र हुवासिन कन्स्ट्रक्सन प्रालिले सुरु गरेका छन्।

सी चुयानले ५० जना कामदार लिएर काम सुरु गरिसकेको छ भने हुवासिन कन्स्ट्रक्सनले कामदारका लागि अस्थायी क्याम्प बनाइरहेका छन्।

Advertisement

यसअघि उद्योग निर्माण कम्पनी र हुवासिन उद्योगबीच सहमति हुन नसकेपछि काम अघि बढ्न सकेको थिएन। उद्योग निर्माणको जिम्मा पाएको हान्दान सिनोमा कन्सल्ट्यान्टले क्षतिको विवरणमा विवाद भएपछि काम छोडेको हो।

कम्पनीका अनुसार दुबै ठेकेदार कम्पनी चिनियाँ नै हुन्। कम्पनीसँग आर्थिक र प्राविधिक पक्षमा सहमति भैसकेको छ।

Advertisement

वीमा नगर्दा कम्पनी समस्यामा
पहिला उद्योग निर्माणको जिम्मा पाएको हान्दान सिनोमाले चीन र नेपाल दुबैतर्फ वीमा नगर्दा कम्पनी काम छोड्न बाध्य भएको हो। एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरि तीब्र गतिमा काम गरिरहेको कम्पनीले बाढीको समस्या व्योहोरेको थियो।

‘बाढीले कम्पनीको करोडौं क्षति गरेपछि क्षति दाबी गर्ने कानूनी आधार रहेन,’ कम्पनीका एक कर्मचारीले भने, ‘काममा घाटा लाग्ने अवस्था आएपछि कम्पनी काम छोड्न बाध्य भयो।’

बाढी पसेपछि दुई कम्पनीबीच पटक-पटक सहमतिको प्रयास भएपनि सहमति जुट्न सकेन। सबै काम सकिदा पनि नाफा नहुने देखिएपछि कम्पनी काम छोड्न बाध्य भएको हो।

चिनियाँ प्राविधिकहरुलाई स्थानीय वासिन्दाले पटक पटक खोलाको विषयमा सतर्क गराएपनि वेवास्ता गर्दा कम्पनीले ठूलो क्षति व्योहोर्नु परेको स्थानीय वासिन्दाको भनाई छ। कम्पनीले आफ्नो सामाग्री बिक्री गरी चीन फर्किएको हो।

पहिलेकै कामदार प्रयोग गरिने
उद्योगमा नेपाली र चिनियाँ गरी करिब ५ सय कामदार कार्यरत थिए। दुबै कम्पनीले सोही कामदार प्रयोग गर्ने तयारी गरेको छ। यस्तै स्काभेक्टर र ट्रिपरहरु पनि स्थानीयवासीकै प्रयोग गरिने बताइएको छ।

प्रतिक्रिया