नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी

विदुर खबर २०७६ भदौ २८ गते १४:१८

नुवाकोट । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा जीवनरामले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे ।

Advertisement

जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल निर्वाचित भएका छन् । जीवनरामकै प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ पनि निर्वाचित भए । पाँच जना उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भए । समिमले १२ मत मात्र प्राप्त गरे समिमसँगै राजीब श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए ।

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । निलेन्द्रले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका छन् । निलेन्द्र जीवनराम श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए । सचिवमा राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट पराजित भए । विष्ट १ मतले पराजित भएका हुन् । तीन जना सचिव रहेको ओलम्पिकमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित हुँदा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ १८ मत ल्याएर विजयी भए ।

Advertisement

यस्तै दीपकहर्ष बज्राचार्यले २५ मत प्राप्त गदा तुलसी थापाले २१ मत ल्याएर विजयी भइन् । नेपाल ओलम्पिक कमिटीको शनिबार भएको मतदानबाट तीन जना सचिव निर्वाचित भएका छन् । तीन सचिव पदका लागि चार जनाको मनोनयन दर्ता भएपछि निर्वाचन भएको हो । सात जना सदस्यको मत परिणाम सार्वजनिक हुँदा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् ।

प्रतिक्रिया