‘बोक्सी’ आरोपमा शिक्षिका पनि कुटिइन्, जोखाना हेर्ने जमातमा पत्रकार !

विदुर खबर २०७४ फागुन २७ गते १२:३७

२७ फागुन, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ?

Advertisement

राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् र अपराधीमाथि कारवाहीका लागि दबाव सम्भव भयो ।

बोक्सीको आरोपमा राधामाथि भएको कुटपिटबारे खोजतलास गर्दै जाँदा घटनाका अनेकन पहेली बाहिर आउन थालेका छन् ।

Advertisement

राधामाथि कुटपिट भएकै दिन बोक्सीकै आरोपमा एक जना शिक्षिकामाथि समेत कुटपिट भएको तथ्य फेला परेको छ ।

झाँक्री रामबहादुरसँग जोखाना हेराउन एकजना पत्रकारसमेत आफ्नी आमालाई लिएर घटनास्थलमा पुगेको अर्को तथ्य खुलेको छ ।

Advertisement

जब पत्रकार नै जोखाना हेराउन पुगे

कैलालीका बालकृष्ण चौधरी पेशाले इञ्जिनियर हुन् । उनी क्लासिटेकमा काम गर्छन् । उनी इञ्जिनियरका साथसाथै पत्रकार पनि हुन् । उनी थारु भाषाको अनलाइन चलाउँछन्- थारुनके डटकम ।

गत विहीबार इञ्जिनियर/पत्रकार चौधरीकाे घोडाघोडी रेडियोमा कार्यरत अर्का एकजना पत्रकार साथीसँग भेट भयो ।

ती पत्रकार आफ्नी बिरामी आमालाई उपचार गराउनका लागि देउकलियास्थित झाँक्री रामबहादुर चौधरीको घरमा जान लागेका रहेछन् ।

शिवरात्रीदेखि नै देउकलियामा रामबहादुर भोलेबाबाजीमा साक्षात शिव उत्रिएको सुनेपछि आफू आमालाई लिएर जोखाना हेराउन जान लागेको ती पत्रकार मित्रले बालकृष्णलाई बताए । र, उनलाई पनि भोलेबाबा हेर्न जान आग्रह गरे ।

बालकृष्णले रेडियो पत्रकार मित्रको आग्रहलाई टार्न सकेनन् र उनै आमाछोरासँग नगरपालिकाबाट ४/५ किलोमिटर टाढा पर्ने झाँक्री रामबहादुर चौधरीको घरतिर लागे ।

रिपोटिङका लागि नभई बिरामी आमाको उपचार गर्ने र भोलेबाबाको ‘दर्शन’ पनि गर्ने उद्देश्यले पत्रकारहरु रामबहादुरको घरमा पुग्दा त्यहाँ राधा चौधरीमाथि निर्घात कुटपिट भइरहेको थियो । ठूलो भिडले यो दृश्य हेरिरहेको थियो । त्यही दर्शकको भीडमा पत्रकार पनि मिसिए ।

राधामाथि कुटपिट भइरहँदा केही मानिसहरु आ-आफ्नो मोबाइलबाट भिडियो खिचिरहेका थिए । भिडियो खिच्नेलाई देखेपछि झाँक्री रामबहादुर चौधरी भन्थे- ‘म भोलेबाबा शिवजी हुँ, तिमीहरुले खिचेको भिडियो म मोबाइलभित्रै गायव बनाइदिन सक्छु ।’

पत्रकार साथी र उनकी आमासँग जानेक्रममा आफूहरु घटनास्थलमा करिब आधा घण्टाजति बसेर फर्केको बालकृष्ण चौधरीले अनलाइनखबरलाई बताए । त्यहाँ आफूले मोबाइलबाट खिचेको भिडियो बेलुका थारुनके डटकममा अपलोड गरेको उनले जानकारी दिए ।

आफूहरु त्यहाँ पुग्दा राधामाथि कुटपिट भइरहेको र आफूहरु फर्कंदा  पनि त्यो जारी नै रहेको चौधरीले बताए ।

प्रतिक्रिया