नुवाकोटमा हावाले उडाएको पुल बर्खामा ढलान गरिँदै

विदुर खबर २०७६ भदौ १ गते ९:३४

Advertisement

नुवाकोट,  निर्माण कार्य सुरू भएको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको नुवाकोटको केउरेनीबाट धादिङको फोस्रेटार जोड्ने पक्की पुलको निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।

पुलको निर्माण गरिसक्ने अन्तिम समय २०७४ असार मसान्त तोकिएको भए पनि ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७५ चैत मसान्तसम्म तोकिएको थियो । नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद् बहादुरसिंह लामाको कम्पनीसमेतले ठेक्का पाएको यो पुल ढलानका लागि तयार पारिएको फर्मा गत चैतमा हावाहुरीले भत्काइदिएपछि पुल निर्माण कार्य रोकिन पुगेको थियो ।

Advertisement

पुल निर्माणको जिम्मा सांसद् लामाको हिम्दुङ एण्ड थोकर कम्पनी, सपना र नागार्जुन कन्स्ट्रक्सन जेभीले पाएको छ । लामालगायतले राजनीतिक पहुँचको आडमा ठेक्का पूरा गर्नुपर्ने समय गुजारेर गुणस्तरहीन काम गरेको कारण पुल निर्माणकै क्रममा फर्मा भत्कन पुगेको स्थानीय रमेश ढुंगाना बताउँछन्  । पुल निर्माणमा अनियमितता भएको जनगुनासो आइरहेको बेला निर्माण कम्पनीले त्रिशूली नदीको केउरेनीमा निर्माणाधीन पक्की पुलको ढलान गर्न तयार पारिएको फर्मा २०७५ चैत ११ गते सोमबार साँझ आएको हावाहुरीले भत्काएको थियो । हावाहुरीले पुलको बन्दै गरेको संरचना भत्काएपछि ५ वर्षअघिदेखि निर्माण सुरू गरिएको उक्त पुलको निर्माण कार्य अन्योलमा परेको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माण सम्पन्न गर्न थप गरिएको एक वर्षको अवधि गत चैतमा सकिएको भए पनि बल्ल ठेकेदार कम्पनीले पुलको फ्रोसेटारतर्फको एक भाग ढलानका लागि तयारी गरिरहेको छ ।

पाँच वर्षदेखि बनाउन थालिएको पुलको जम्मा एक सय मिटरमात्रै ढलान भएको छ भने अर्को एक सय मिटर ढलान गर्ने तयारी गर्ने क्रममा हावाहुरीले फर्मा भत्काइदिएकोले नयाँ फर्मा जडान गरेर ढलानको तयारी भइरहेको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए । गत चैतमा ढलान गर्ने तयारी अवस्थामा राखिएको फर्मा हावाहुरीले सबै भत्काइदिएपछि ५० लाख हाराहारीमा क्षति भएको निर्माण कम्पनीको दाबी छ । पुलको कुल लागत १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रूपैयाँ रहेको छ भने पुल १९२ मिटर लामो हुनेछ । निर्माण गरिसक्नुपर्ने दोस्रोपटकको अवधि सकिनै लाग्दा हावाहुरीले पुल भत्काइदिएपछि पुल निर्माण गर्ने समय लम्बिन पुगेको हो ।

Advertisement

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५, केउरेनी र धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार जोड्ने त्रिशूली नदीमाथिको मोटर चल्ने पक्की पुल निर्माण सम्पन्न भएमा धादिङ र नुवाकोट जिल्लाका ग्रामीण भेग हुँदै दुवै जिल्ला सदरमुकाम जोड्ने मुख्य मार्गका रुपमा यो पुल प्रयोगमा आउने छ । धादिङको सदरमुकाम धादिङबेँसीबाट पुरानो सदरमुकाम सुनौला बजार हुँदै खाल्टे, फोस्रेटार भएर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका जोड्ने गरी त्रिशूली नदीमा बनिरहेको पक्की पुलको निर्माणमा भएको ढिलाइले आमनागरिकमा निराशा जगाएको फोस्रेटारका कृष्णप्रसाद खतिवडा बताउँछन् ।

प्रतिक्रिया