‘सलमान आउने कार्यक्रम रद्द भएको हैन, मिति पछि सरेको हो’

विदुर खबर २०७४ फागुन १८ गते १७:१८

काठमाडौं । नेपालमा हुन लागेको सलमान खानको कार्यक्रम ‘क्यान्सिल’ नभएको आयोजकले बताएको छ । केही सञ्चारमाध्यममा सलमान नआउने भन्ने समाचार आए पनि  त्यसमा सत्यता नरहेको ओडीसी इन्टरटेन्मेटले दाबी गरेको छ ।

“कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको छ, करोडौंको टिकट बिक्री भैसकेको छ । सलमानका फ्यान उनको कार्यक्रमको प्रतीक्षामा छन्,” ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने, “करोडौं रुपैयाँ तयारीमा मात्रै खर्च भैसकेको छ । यस्तो अवस्थामा कार्यक्रम रद्द गर्ने भन्ने प्रश्नै हुँदैन । केही समयका लागि मिति पर सरेको मात्रै हो ।”

५ करोड भारतीय रुपैयाँ सलमानलगायतका अन्य कलाकारलाई पठाइसकेको भन्दै उनले कुनै पनि हालतमा कार्यक्रम स्थगित नहुने स्पष्ट पारे । “हामीले कन्ट्रयाक्टमै स्पष्ट उल्लेख गरेका छौं– प्राकृतिक प्रकोप, भूकम्प वा अन्य यस्तै विभिन्न ७ वटा अवस्था आए कार्यक्रमको मिति पर सार्न सकिन्छ । उहाँहरुसँग हामीले कुरा गरिसकेका छौं, केही समयको मिति हेरफेरले फरक नपर्ने बताउनु भएको छ,” गुरुङले भने ।

कार्यक्रम स्थगित नभएर केही समयलाई मात्रै पर सरेको ओडीसीले बताए पनि नयाँ मिति भने तय भैसकेको छैन । दुई तीन दिनभित्रमै नयाँ मिति तय हुने भन्दै गुरुङले भने, “तीनदेखि चार हप्ताको बीचमा कार्यक्रम हुन्छ ।”

यही फागुन २६ गते कार्यक्रम हुने तयारी भैरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले सलमानको कार्यक्रम स्थगित गर्न माग गरेको थियो । महासंघले अनावश्यक मदिराको प्रचारप्रसार गरेको र दशौं हजारको टिकट बेचिएको भन्दै कार्यक्रम नगर्न माग गरेको थियो । आफूहरुको माग बेवास्ता गरिए कार्यक्रम बिथोल्न उसले चेतावनी दिएको थियो ।

फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने कार्यक्रम थियो । कन्र्सटमा सलमान र सोनाक्षीले एकसाथ स्टेजमा प्रस्तुति दिने आयोजकले जनाएको थियो । सलमानको ‘द–दबङ द टुर’ अन्तर्गत उक्त कार्यक्रम हुन लागेको थियो । उनीहरुसँग नेपाली कलाकार राजेशपायल राई, विजय लामा, माला लिम्बु, सुष्मा कार्कीलगायतले प्रस्तुति दिँदै थिए ।

कार्यक्रममा ५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकको थियो । कार्यक्रमबाट १५ करोड रुपैयाँ टिकटबाट उठाउने योजना ओडीसीको थियो । ३ हजार, ५ हजार, १० हजार र २० हजार दरका टिकट ओडीसीले बिक्री गरिरहेको थियो । ९० जना सहयोगी तथा सहकर्मीसहित सलमान फागुन २५ गते नेपाल आएर २७ गते फर्किने कार्यक्रम थियो ।

प्रतिक्रिया