कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा

नुवाकोट । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर सांसदहरूले शपथ लिएको दुई साता बितिसक्दासमेत प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य हुनेदेखि उपसभामुखसरहको सेवासुविधा पाउने भएकाले दलको नेता बन्न पुरानै नेताहरूबीच ‘रस्साकसी’ छ ।
दलका नेतामा अर्जुननरसिंह केसीदेखि पार्टीका तत्कालीन सहमहामन्त्री भीष्म आङदम्बे, मोहन आचार्य र भरतबहादुर खड्काको दाबी छ । पार्टी पदाधिकारीहरू आङदम्बेको नाममा सर्वसम्मति बनाउन खोजिरहेका छन् । संस्थापन पक्षमा सहमति भए पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट कुनै एकलाई अघि सार्न सक्ने सम्भावना कायमै छ ।
कांग्रेस सभापति गगन थापा भने ७८ वर्षीय केसीलाई संसदीय दलको नेता बनाउन चाहिरहेका छैनन् । केसी थापाको ‘ससुरा’ नाता पर्छन् । समानुपातिक सूचीमा ‘ससुरा’ को नाम परेदेखि नै थापाले आलोचना खेप्दै आएका छन् । केसी पार्टीको मात्रै भएर संसद्कै पाका सांसद हुन् । उनका समकालीन र उमेरमा हाराहारीका अधिकांश नेताहरू यस पटक संसद्मा उपस्थित छैनन् ।
पार्टीको कुनै पनि पदाधिकारीले चुनाव नजितेका कारण केसीले राजनीतिक त्याग र अनुभवका आधारमा आफैं संसदीय दलको नेता बन्न पाउनुपर्ने माग राख्दै आएका छन् । तर, केसीलाई संसदीय दलको नेता बनाउँदा सभापति थापाविरुद्ध र नागरिक समाजमा चर्को आलोचना हुन सक्ने भन्दै पार्टीका पदाधिकारीहरूले मंगलबार भेटेरै दाबी छाडेर सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
२०३८ सालको पञ्चायती कालखण्डदेखि नै चुनाव लड्दै आएका र पाँच पटकसम्म मन्त्री भएका केसीलाई समानुपातिकको मर्मविपरीत सांसद बनाइएकामा पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । त्यसैले पदाधिकारीहरू पठाएरै सभापति थापाले केसीलाई पछि हट्न सन्देश दिएका हुन् । केसीलाई भेट्न जानेमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय पदीप पौडेल, गुरुराज घिमिरे र प्रवक्ता देवराज चालिसे थिए ।
महामन्त्री पौडेलले पनि अर्को पक्षसँग समेत सर्वसम्मति जुटेमा बाहेक अरू अवस्थामा दाबी छाडिदिन केसीलाई आग्रह गरिएको पुष्टि गरे । ‘तपाईंका नाममा अर्को पक्षले समेत स्विकारेर सर्वसम्मति हुने अवस्था आयो भने त्यसमा आपत्ति छैन । तर, हुन सकेन भने तपाईंले दाबी छाडेर सहयोग गरिदिनुहोस् भनेका हौं,’ पौडेलले भने, ‘सहमति नहुने छाँट देखिए पनि निर्वाचन समिति घोषणा गरेर बिहीबार नै प्रक्रिया सुरु गर्छौं ।’
तर, भेटमा केसीले सभापति गगनको ‘ससुरा’ नाता जोडेर आफ्नो राजनीतिक त्याग र संघर्षलाई अवमूल्यन गर्ने काम भएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘पारिवारिक नाता जोडेर गगन थापाको ससुरा भन्ने भाष्य खडा गरेर मेरो राजनीतिक पहिचानलाई सखाप पार्ने काममा तपाईंहरू लाग्नुभएको हो भने म त्यसलाई स्वीकार्दिनँ भनेर प्रस्ट भनेको छु,’ केसीले भने, ‘सहमतिका लागि हो भने मैले दाबी मात्रै गरेको हो । सहमति जुटाएर अघि बढ्न सकिन्छ ।’
केसीले गगन थापाको कारण नभएर आफ्नै राजनीतिक योगदान र क्षमताले अवसर पाएको दाबी गरे । उनले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफू सभापति हुँदै गर्दा भान्जी नाता पर्ने शैलजा आचार्यलाई उपसभापति तथा सरकारमा उपप्रधानमन्त्री बनाएको प्रसंग सुनाए । त्यस्तै सभापति गिरिजाप्रसादले सुशील कोइरालाई कार्यवाहक सभापति बनाएको प्रसंग केसीले झिके । ‘भान्जी र सुशील कोइरालाले पाएको अवसर नाताका कारणले होइन, राजनीतिक योगदान र संघर्षका कारणले हो । मैले पनि गगनको ससुरा भएर अवसर पाएको होइन,’ केसीले भने, ‘मेरो लामो इतिहासलाई गगनको ससुरासँग जोडेर ममाथि अन्याय गर्न खोजिएको छ । यो म स्वीकार्न सक्दिनँ ।’
तर, पार्टी अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका बेला सभापतिलाई नै समस्यामा पार्ने गरी केसीले दलको नेतामा दाबी नगरिदिए हुन्थ्यो भन्ने पक्षमा सिंगो केन्द्रीय कार्यसमिति रहेको एक पदाधिकारीले बताए । ‘समाजको भावना र मनोविज्ञान कतातिर गइरहेको छ भन्ने बुझेर उहाँ आफैंले दाबी नगर्नुपर्ने हो,’ अर्का एक पदाधिकारीले भने, ‘अर्जुनदाइले सहजै नछाडी दिएकै कारण समस्या उत्पन्न भएको हो ।’
सर्वसम्मति नभएको अवस्थामा चुनावबाटै दलको नेता चयन गर्ने गरी तयारी पनि थालिएको छ । सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेको निर्वाचन समिति गठन भइसकेको छ । सभापति थापा आफैं भने तत्कालीन सभापति शेरबहादुर देउवाको पक्षमा रहेका भीष्म आङदम्बेलाई नै दलको नेतामा सर्वसम्मति बनाउन खोजिरहेका छन् ।
केसीले ‘अड्को’ थापेमा समानुपातिकबाट नभएर प्रत्यक्षबाट दलको नेता चुन्ने दोस्रो विकल्पमा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य थापाको रोजाइमा छन् । आङदम्बे तत्कालीन सभापति देउवा पक्षमा रहे पनि पछिल्लो पटक विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा जोडिएका छन् । पार्टीले संसद्को पहिलो बैठकमा सम्बोधन गर्न आङदम्बेलाई जिम्मेवारी दिएको थियो । त्यसक्रममा उनले थापाको नेतृत्वमा कांग्रेस बदलिएको सन्देश संसद्को रोस्ट्रमबाटै दिएका थिए ।
‘मेरो दाबी हो र पार्टीले कसलाई बनाउँछ, मलाई अहिल्यै जानकारी छैन,’ उनले भने, ‘सर्वसम्मति बनाउन नेताहरू छलफलमा लागिरहनुभएको छ । आशा गरौं चाँडै टुंगिएला ।’ पुराना नेताहरूबीच संसदीय दलका नेताका लागि रस्साकसी चलिरहँदा युवालाई अवसर दिनुपर्ने भन्दै त्यसका लागि ‘लबिइङ’ पनि सुरु भएको छ । ३६ वर्षका प्रधानमन्त्री वालेन्द्र शाहले मुलुक हाँकिरहेका र संसद्मा युवाहरूको बाहुल्य प्रतिनिधित्व रहेको अवस्थामा कांग्रेसले युवालाई नै किन अवसर नदिने तर्क पार्टीका युवा नेता तथा कार्यकर्ताहरूले गर्न थालेका छन् ।

युवालाई अवसर दिएर समाजलाई सकारात्मक सन्देश दिनुपर्ने उनीहरूको माग छ । युवा सांसदहरूमध्ये इलाम–१ बाट निर्वाचित निस्कल राई, मुस्ताङबाट निर्वाचित योगेश गौचन थकाली र दैलेख–२ बाट निर्वाचित बासना थापाको बढी चर्चा छ । कांग्रेस महामन्त्री पौडेल पनि युवापंक्तिबाट संसदीय दलको नेता चयन गर्न सके राम्रो सन्देश जाने बताउँछन् । समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया