पूर्व अर्थमन्त्री डा. महतकाे चुनावी प्रतिज्ञापत्र सार्वजनिक
नुवाकाेट । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

उनले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नुवाकोटको ढिकुरेमा रहेको सम्पर्क कार्यालयमा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र विकासको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा चित्रण गरे ।
उनको प्रतिज्ञापत्रमा लेखिएको छ, ‘यो भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए, अब यही ऐतिहासिक पहिचानलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै नुवाकोटलाई नयाँ पहिचान दिने समय आएको छ ।’
महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई आफ्नो प्राथमिकता बताए ।
पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेपनि यसअघि नै नुवाकोटको विकासमा योगदान दिएको उल्लेख गर्दै उनले मतदातासँग विश्वासलाई मतमा परिणत गर्न अपिल गरे।
उनले नुवाकोटलाई बागमती प्रदेशभित्र रणनीतिक जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए ।प्रतिज्ञापत्रमा नुवाकोटको विकासको आधार पूर्वाधार विस्तारलाई बनाइएको छ ।
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु–रानीपौवा–पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने मुख्य योजनाहरूमा राखिएको छ ।
यसबाहेक पालिकास्तरका सडक, पुल, सिंचाइ र खानेपानी व्यवस्थालाई प्राथमिकतामा राखिएको छ । लिखु र तादी नदी कटान नियन्त्रण गर्दै सिंचाइ विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका डा. महतको प्रतिज्ञा पत्रमा नुवाकोटको समृद्धिको आधार कृषि भएको उल्लेख गर्दै आधुनिक सिंचाइ, मल, बीउ र बजार पहुँच सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
स्थानीय उत्पादन स्ट्रबेरी, ट्राउट माछा, आलु, किवी, कफी लगायतलाई ब्राण्डिङ गर्दै प्रशोधन उद्योगसँग जोड्ने, शीतभण्डार निर्माण गर्ने र बजार मूल्य सुनिश्चित गर्ने योजना उनले सार्वजनिक गरे ।
किसानलाई बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति रोक्न नीतिगत समाधान खोजिने पनि उनले बताए ।
प्रतिज्ञापत्रमा ककनी, चिसापानी, सूइरेचौर, पञ्चकन्या लगायत क्षेत्रलाई पर्यटन केन्द्र बनाउने गुरुयोजना बनाउने उल्लेख छ ।
दुप्चेश्वर र कपिलेश्वर जस्ता धार्मिक स्थललाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक गन्तव्य बनाउने, गोसाईकुण्ड जाने पदमार्ग र केवलकार सम्भावना अध्ययन गर्ने योजना पनि उनले अघि सारेका छन् ।
महतले प्रदेशस्तरीय आवासीय प्राविधिक तथा सूचना प्रविधि शिक्षालय स्थापना गर्ने, डिजिटल शिक्षा प्रणाली लागू गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
युवालाई विदेश पलायन रोक्न कृषि, पर्यटन, उत्पादन र सूचना प्रविधिमा सीप विकास कार्यक्रम, उद्यमशील कोष र सार्वजनिक–निजी साझेदारीमा उद्योग स्थापना गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ ।
महिला सशक्तिकरण, स्वरोजगार, खेलकूद पूर्वाधार र युवा क्षमता विकासमा पनि योजनाबद्ध पहल गरिने उल्लेख गरिएको छ ।
महतले विकास कुनै दलको नभई जनताको साझा अभियान भएको उल्लेख गर्दै स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र समुदायलाई एउटै लक्ष्यमा जोड्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा बागमतीका उपसभापति हुमागाईँ कांग्रेस प्रवेश
पूर्व अर्थमन्त्री डा. महतकाे चुनावी प्रतिज्ञापत्र सार्वजनिक
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
परिवर्तन र समृद्धिका उज्यालो पार्टीले जित्नुपर्छ : घिसिङ





प्रतिक्रिया