रुकुम पूर्वमा भारी हिमपात

विदुर खबर २०८२ माघ १० गते १२:०२

नुवाकोट । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

Advertisement

लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।

सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् ।

Advertisement

​जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमा शंकरप्रसाद यादवका अनुसार, गाडीहरू फसेको सूचना लगत्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’

Advertisement

अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरेर जेसेबी पठाइएकाे बताए ।

​’हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने तयारी गरेका छौं, ‘ प्रजिअ परियारले भने, ‘निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउन केही समय लाग्न सक्छ । तर, हामी यात्रुको सुरक्षित उद्धारमा जुटेका छौं ।’ ​अहिले रुकुमपूर्वका उच्च हिमाली भेगहरूमा जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया