जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति
नुवाकोट । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बागमती प्रदेशका अधिकांश सरकारी भवनहरू प्रयोग अयोग्य बनेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको प्राविधिक परीक्षणअनुसार बागमती प्रदेशका ११ वटा सरकारी संरचनामध्ये १० वटा तत्काल प्रयोगका लागि अयोग्य देखिएका छन् ।
मन्त्रालयका अनुसार परीक्षणमा सहभागी प्राविधिक टोलीले आधुनिक उपकरण प्रयोग गरी भवनहरूको अवस्था मूल्यांकन गरेको हो । सो मूल्यांकनका आधारमा भवनहरूलाई तीन वर्गमा विभाजन गरिएको छ — हरियो (तत्काल प्रयोगयोग्य), पहेंलो (मर्मतपछि प्रयोगयोग्य) र रातो (पूर्णरूपमा असुरक्षित, पुनर्निर्माण आवश्यक) । परीक्षण गरिएका ११ संरचनामध्ये २ वटा रातो, ८ वटा पहेंलो र १ वटा मात्र हरियो सूचीकृत भएका छन् ।
हरियो वर्गमा पर्ने एक मात्र भवन आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हो । रातो वर्गमा भने बागमती प्रदेशसभा भवन र सहरी विकास तथा भवन कार्यालयको संरचना परेका छन् । यी दुई भवन पूर्णरूपमा ध्वस्त भएकाले पुनर्निर्माणबाहेक विकल्प नभएको मन्त्रालयले जनाएको छ ।
प्रदेशसभाको पुरानो र नवनिर्मित दुवै भवन आगजनीका कारण जलेर नष्ट भएका थिए। प्रदेशसभा सचिवालय अहिले अस्थायी रूपमा अन्य भवनमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै, हेटौंडास्थित भौतिक पूर्वाधार विकास, श्रम तथा यातायात, कृषि तथा पशुपन्छी विकास, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका भवनहरू पहेंलो वर्गमा परेका छन्, जसको मर्मतपछि मात्र प्रयोग सम्भव हुनेछ ।
मुख्यमन्त्री कार्यालयको सभाहल, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामाजिक विकास मन्त्रालयको ‘बी’ ब्लक, प्रदेश प्रमुख सचिव निवास र बागमती विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिज कार्यालय पनि पहेंलो सूचीकृत भएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार पहेंलो र हरियो भवनहरूमा शीघ्र मर्मत गरी सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । उनले रातो स्टिकर भएका दुई भवन (नयाँ बनेको प्रदेश सभा हलसहित) पुनर्निर्माण गर्नुपर्ने बताए।
आन्दोलनका क्रममा सरकारी कार्यालय, सवारीसाधन र जिन्सी गरी ९० करोड रुपियाँभन्दा बढीको सम्पत्ति क्षति भएको प्रारम्भिक विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।
क्षति काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरका विभिन्न सरकारी संरचनामा भएको हो। मकवानपुरमा मात्रै १७ कार्यालयका ४० भवनमा क्षति पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
क्षतिको मूल्यांकन, पुनर्निर्माण र स्रोत व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ। समितिमा सम्बन्धित मन्त्रालयका सचिव तथा प्राविधिक विज्ञहरू सदस्य रहेका छन् ।
समितिले तयार पार्ने प्रतिवेदनका आधारमा बजेट र पुनर्निर्माणको अन्तिम टुंगो लगाइनेछ । सरकारी संरचनामा ठूलो क्षति भएपछि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को ६७ अर्ब रुपियाँको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
बजेट पुनरावलोकनमार्फत साना तथा अप्रभावकारी योजनाहरू कटौती गरी पुनर्निर्माणमा प्राथमिकता दिइने सरकारले जनाएको छ । सबैभन्दा ठूलो क्षति प्रदेशसभा भवनमा पुगेको छ।
बागमती प्रदेशसभा सचिवालयका प्रारम्भिक तथ्यांकअनुसार करिब ३५ करोड रुपियाँ बराबरको क्षति भएको छ । १२ करोड २९ लाख रुपियाँ लागतमा बनेको नवनिर्मित सभाहल जलेर पूर्णरूपमा ध्वस्त भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया