बन्धक बनाइएको दुई वर्षपछि विपिन जोशी रिहाइ नजिक

विदुर खबर २०८२ असोज २१ गते ११:३१

नुवाकोट । अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशी रिहा हुने सम्भावना बढेको छ ।

Advertisement

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् ।

युद्धविराम पूर्णरूपमा कार्यान्वयन भएमा पहिलो चरणमा हमासले नियन्त्रणमा रहेका सबै बन्धकलाई रिहाइ गर्नुपर्नेछ । इजरायल र हमासले ट्रम्पको प्रस्तावमा अनौपचारिक सहमति जनाएकाले जोशीसहित ४८ जनाको रिहाइको सम्भावना बढेको हो ।

Advertisement

युद्धविराममा औपचारिक सहमति गर्न सोमबार मध्यस्थकर्ताको सहजीकरणमा इजरायल र हमासका प्रतिनिधिबीच इजिप्टको राजधानी कायरोमा अप्रत्यक्ष वार्ता हुँदै छ । इजरायलको बन्दी मामिलाका प्रतिनिधि गाल हिर्सले आइतबार बिहान इजरायलस्थित अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुख ज्युलियन लेरिसनसँग बन्धक र कैदी साटासाट गर्ने विषयमा तयारी बैठक गरेका छन् ।

यसबारे उनले एक्समा लेख्दै जानकारी दिएका हुन् । उनी गाजाको युद्ध अन्त्य र बन्धक मुक्तका लागि भइरहेको अप्रत्यक्ष वार्तामा सहभागी हुने इजरायली वार्ता टोलीका सदस्य हुन् । इजिप्टमा हुने वार्ताले बन्धक–कैदीलाई साटासाट प्रक्रिया सुरु गर्न आवश्यक तयारीको समयसीमा तय गर्ने अपेक्षा राखिएको छ । इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।

Advertisement

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको छैन । उनको रिहाइका लागि नेपाल सरकारले पहल गर्दै आएको छ ।

विपिनलाई रिहा गर्न दबाब दिनका लागि उनकी आमा र बहिनी पुष्पा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयसमेत पुगेका थिए । उनीहरूले यूएन महासचिव एन्टोनिय गुटरेससँग भेटेर विपिनको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसअघि उनीहरू इजरायल पनि पुगेका थिए । इजरायलमा उनीहरूले राष्ट्रपति आइजक हर्जग र संसद्का अध्यक्ष आमिर ओहोनासँग भेट गरेका थिए । त्यस्तै उनीहरूले तेल अविवस्थित ‘होस्टेज स्क्वायर’ मा आयोजित सभालाई सम्बोधन गर्दै विपिनलगायतका सबै बन्धकको रिहाइका लागि तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका थिए ।

ट्रम्पले प्रस्ताव गरेको युद्धविरामको योजनाअनुसार इजरायलले आजीवन कैद भोगिरहेका २५० प्यालेस्टिनी कैदी र ७ अक्टोबर २०२३ पछि गाजा क्षेत्रमा पक्राउ परेका १७ सयभन्दा बढी बन्दीहरूलाई मुक्त गर्ने अपेक्षा गरिएको छ । त्यस्तै हमासले भने बन्धकलाई तत्काल मुक्त गर्नुपर्ने छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार टेलिभिजन सम्बोधनमा केही दिनभित्रै बन्धकहरू मुक्त हुने आशा राखेको बताए । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गाजा युद्धमा मारिएका इजरायली सैनिकका परिवारहरूलाई प्रतिनिधित्व गर्ने समूह ग्भुरा फोरमका सदस्यहरूसँग आइतबार भएको भेटमा उनले सबै बन्धक मुक्त नभएसम्म युद्धविरामको अर्को चरण सुरु नहुने बताएका छन् ।

‘जबसम्म अन्तिम बन्दी (जीवित र मृत) लाई इजरायली भूमिमा नल्याइएसम्म हामी कुनै पनि अर्को चरणमा अघि बढ्ने छैनौं,’ दि इजरायल टाइम्समा प्रधानमन्त्री नेतान्याहुको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘यदि हमासले राष्ट्रपति ट्रम्पले तोकेको समयसीमाभित्र बन्दीलाई मुक्त गरेन भने इजरायलले सम्बन्धित सबै देशहरूको पूर्ण समर्थनसहित गाजामा पुनः सैन्य कारबाही सुरु गर्नेछ ।’

हमासका एक वरिष्ठ अधिकारीले भने गाजाको युद्ध अन्त्य गर्न र इजरायलसँग बन्दी–बन्दी साटासाट कार्यान्वयन गर्न हमास अत्यन्त इच्छुक रहेको एएफपीलाई बताएका छन् । ‘हमास युद्ध अन्त्य गर्न र फिल्डमा अनुकूल अवस्था बनेपछि तुरुन्तै कैदी साटासाट प्रक्रिया सुरु गर्न अत्यन्त इच्छुक छ,’ ती अधिकारीले भनेका छन्, ‘यदि इजरायल वास्तवमै सम्झौतामा पुग्ने इच्छुक छ भने हमास तयार छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले भने हमाससामु सम्झौता गर्नुको विकल्प नभएकाले त्यसमा ढिलाइ नगर्न चेतावनी दिएका छन् । ‘हमासले तुरुन्तै अघि बढ्नुपर्छ, नत्र सबै विकल्पहरू समाप्त हुनेछन् । यो काम छिट्टै सम्पन्न गरौं, छिटो,’ ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन् ।

कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया