सुन तोलाको साढे दुई लाख पुग्न सक्छ : व्यवसायी

विदुर खबर २०८२ असोज २१ गते ११:०९

नुवाकोट । दसैंलगत्तै खुलेको सुन बजारमा नयाँ–नयाँ कीर्तिमान कायम भएको छ ।

Advertisement

दसैंको बिदा हुनुअघि असोज १२ मा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ तोकेको थियो ।

त्यसपछि दसैंको बिदा भयो । असोज १८ सम्म संघले सुनको मूल्य निर्धारण गरेन । दसैंलगत्तै असोज १९ मा गहना बजार खुल्दा मूल्यले आकाश छोएको छ । सुनको मूल्य एकै दिन ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भयो ।

Advertisement

दोस्रो दिन अर्थात् असोज २० मा पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । महासंघले आइतबारको तुलनामा सोमबार प्रतितोला २५ सय रुपैयाँ बढाएर २ लाख ३३ हजार १ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य पनि अहिलेसम्मकै कीर्तिमानी हो ।

‘गहना बजार पूरै अस्थिर देखियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली सुन बजार डामाडोल बनेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले प्रत्यक्ष असर पारेको छ,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने, ‘दसैंमा सुन बिक्री भएन । तिहार नजिकै आइसकेको छ । तर अस्वाभाविक मूल्यवृद्धिले नेपालीले सुन किन्न सक्ने अवस्था रहेन ।’

Advertisement

असोज १२ मा महासंघले सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ ३ हजार ७ सय ६० अमेरिकी डलर थियो । असोज १९ मा आइपुग्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य बढेर ३ हजार ८ सय ८७ अमेरिकी डलर पुग्यो ।

एक सातामा प्रतिऔंस १ सय २७ अमेरिकी डलर बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको उनले जनाए ।

प्रतिक्रिया