‘सधैँ चक डस्टर घोट्दै आएकी मेरी श्रीमतीको के दोष थियो ?’

नुवाकोट । जेन–जी आन्दोलनले हिंसात्मक र विध्वंसात्मक रूप लिएको दोस्रो दिन गत भदौ २४ गतेका दिन जेन–जीले घरमा आगो लगाइदिँदा आगलागीमा परेर गम्भीर घाइते भएकी नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ । हाल उनको उपचार काठमाडौंको कीर्तिपुरस्थित बर्न सेन्टरमा भइरहेको छ ।

गम्भीर अवस्थामा रहेकी आफ्नी श्रीमती चित्रकारको अवस्था हेरेर पूर्व प्रधानमन्त्री खनाल बेलाबेलामा निकै भावुक बन्ने गरेका छन् । उनले आफू निकटस्थहरूसँग दशांै वर्ष चक डस्टर घोटेर शिक्षाको उज्यालो फैलाउँदै आइरहेकी आफ्नी श्रीमतीको के दोष थियो र ? भन्दै आन्दोलनकारीहरूसँग प्रश्न गर्दै आइरहेका छन् ।
उनले घटना जघन्य र अमानवीय भएको बताउँदै आएका छन् । अस्पतालका बर्न सेन्टर प्रमुख डा. किरण नकर्मीका अनुसार चित्रकारको स्वास्थ्यमा केही सुधार भए पनि अवस्था अझै खतरामुक्त भने भइसकेको छैन । डा. नकर्मीले भने –‘उहाँलाई अहिले पनि आईसीयू (सघन उपचार कक्ष) मा राखी उपचार भइरहेको छ । शारीरिक अवस्था पहिलेको तुलनामा राम्रो भए पनि पूर्ण सुरक्षित भन्न सकिने स्थिति छैन ।’
आगलागीका कारण उहाँको शरीर झण्डै १५ प्रतिशत जलेको छ भने विषाक्त धुँवा फोक्सोमा प्रवेश गर्दा स्वास्थ्यमा थप जटिलता देखिएको हो । पोलिएको देब्रे हातमा गम्भीर संक्रमण देखिएपछि चिकित्सकले कुममुनिबाट हात काटेर फाल्नु परेको छ । संक्रमणले अवस्था जटिल बनेपछि संक्रमण घटाउने अर्को विकल्प नभएकाले हात काट्नैपरेको डा. नकर्मीले बताए ।
वरिष्ठ नेता खनालले पनि श्रीमतीको स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा पुगेको जानकारी दिँदै भने– ‘इन्फेक्सनका कारणले देब्रे हात काटिएको छ, तर अहिले उपचारपछि स्वास्थ्यमा सुधार भइरहेको छ ।’नेता खनालको श्रीमतीजस्तै जेन–जी आन्दोलनको दोस्रो दिन अर्थात् २४ भदौमा भएको आगलागी र हिंसात्मक गतिविधिबाट घाइते भएका २५ भन्दा बढी घाइतेलाई कीर्तिपुर बर्न सेन्टरमा लगिएको थियो । डा. नकर्मीका अनुसार हाल सबै घाइतेको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ ।
गम्भीर अवस्थामा रहेका केही बिरामीलाई निरन्तर निगरानीमा राखिएको छ ।यसअघि २३ भदौमा सरकारी दमनमा परी १९ जनाको मृत्यु र सयौं घाइते भएपछि प्रदर्शन झनै चर्किएको थियो । त्यसैको प्रतिफलस्वरूप २४ भदौमा विभिन्न स्थानमा आगजनी, तोडफोड र ठूलो क्षति भएको थियो । त्यही क्रममा नेता खनालको निजी निवासमा पनि आगजनी गर्दा श्रीमती चित्रकार गम्भीर घाइते हुनुभएको थियो ।
नेता खनालले आफ्नो परिवारमाथि परेको संकटलाई देशकै पीडासँग जोड्दै नागरिकलाई संयमित रहन अपिलसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो आन्दोलनमा धेरैले जीवन गुमाए, धेरै घाइते भए । अब हामी सबैले मिलेर शान्तिपूर्ण समाधान खोज्नुपर्छ ।’
जेन–जी आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालयसहितका संवेदनशील संरचना जलाइएपछि उपचार सेवामा पनि ठूलो चुनौती खडा भएको छ । विशेषगरी आपतकालीन अवस्थामा प्रयोग हुने औषधि र उपकरण जलेपछि तत्काल व्यवस्थापनमा कठिनाइ भएको हो ।

यद्यपि, युनिसेफलगायतका अन्तर्राष्ट्रिय निकायको सहयोगमा आपूर्ति व्यवस्थापन पुनः सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया