ओलीको बहिर्गमनपछिको गम्भिर प्रश्नः अब कस्को नेतृत्वमा सरकार ? गणतन्त्र र संघीयता के होला ?

विदुर खबर २०८२ भदौ २५ गते १२:१३

नुवाकोट । जेनजीको आन्दोलन अनियन्त्रित भएपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

Advertisement

उनको राजीनामासंगै देशको राजनीति अर्कै मोडमा पुगेको छ, तर अब के होला भन्ने संसय कायमै छ । सरकार गठनमा मात्र होइन, संघीयता र अहिलेको गणतान्त्रिक व्यवस्थाको भविश्य नै अब कसरी निर्धारण होला भन्ने आशंका उत्पन्न भएको छ ।

विश्वकै राजनीतिक घटनाक्रमहरुलाई विश्लेषण गर्दा आन्दोलन अनियन्त्रित भएर पुरानो सत्ता ढलेपछि विद्रोही नेताको नेतृत्वमा अन्तरिम सरकार गठन हुने प्रचलन छ । तर, अहिलेको जेनजी विद्रोहमा देखिने गरि राजनीतिक अनुहार कोही छैन । हामी नेपाललगायतका सामाजिक संजालमा सक्रिय संघ संस्थाहरुले विद्रोहको आव्हान गरे पनि नेतृत्वमा भने कुनै पनि अनुहार देखिएको छैन । त्यसका पछाडि राजावादी राजनीतिक पार्टी र संघ संस्थाहरुको साथै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका राजनीतिक पार्टीहरुको समेत प्रत्यक्ष संलग्नता देखिए पनि उनीहरु नेतृत्वमा भने देखिएका छैनन् ।

Advertisement

त्यसैले विद्रोहको नेता फलना हो र यसकै नेतृत्वमा सरकार गठन हुनेछ भनेर अनुमानसमेत गर्न सकिने अवस्था छैन । विद्रोहीहरुको निशानामा केवल एउटा पार्टी वा सत्ता गठवन्धन मात्र छैन, प्रमुख प्रतिपक्ष नेकपा माओवादीलगायतका अन्य राजनीतिक पार्टीका नेताहरु पनि परिरहेका छन् ।

त्यसैले अहिलेको आन्दोलन वा विद्रोह नेतृत्व विनाको विद्रोह हो । बंगलादेशसंग तुलना गरेर विश्लेषण गर्दा पनि कम्तिमा त्यहाँ विद्यार्थी संगठनहरुले आन्दोलनको नेतृत्व गरिरहेका थिए । उनीहरुकै पहलमा नयाँ सरकार गठन भएको थियो । विद्यार्थी नेताहरुले आफै सरकारको नेतृत्व गर्नु भन्दा पनि सर्व स्वीकार्य र विदेशी शक्ति राष्ट्रहरुले पनि सहजरुपमा मान्यता दिने गरि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार गठन गरिएको छ । तर, नयाँ सरकार गठन भएर पनि समस्या समाधान हुन सकेको छैन । सरकारले चुनाव गराउने घोषणा गरेको छ, तर चुनाव कहिले हुन्छ यकिन छैन ।

Advertisement

नेपालमा पनि कुनै न कुनै विकल्प निस्किएला, त्यो एउटा कुरा भयो । तर, अहिलेको लागि मोहम्मद युनुस जस्ता सर्व स्वीकार्य व्यक्तित्व पनि देखा परिसकेको छैन । यस्तो अवस्थामा बालेन जस्ता कुनै युवा वा बहालवाला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत वा यो आन्दोलनलाई सडकमै पुगेर समर्थन गरेकी पूर्वप्रधानन्यायाधीश शुशिला कार्की वा त्यस्तै कुनै व्यक्तिको नेतृत्वमा सरकार बन्न सक्ने विकल्प देखिन्छ । तर, त्यसको लागि खासगरि पर्दा पछाडिबाट अहिलेको आन्दोलनलाई उठाएका युवाहरुको साथ समर्थन आवश्यक पर्छ । त्यो सम्भव होला ? यसै भन्न सकिदैन ।

अर्काे विकल्प भनेको पूर्वराजा ज्ञानेन्द्र हुन् । अहिलेको घटनापछि कतिपयले राजतन्त्र फर्किने विश्लेषण गर्न थालेका छन् । त्यो कति सम्भव होला र विद्रोही युवाहरुले पूर्वराजा ज्ञानेन्द्र वा केही समय अघिदेखि चर्चामा रहेका उनका नाती ह्रदयन्त्रलाई सहजै राजा स्वीकार गर्लान भन्न सकिने अवस्था छैन ।

उनीहरुलाई गद्धिमा बसाल्नु अगाडि गणतन्त्रको अन्त्य भएको घोषणा गर्नुपर्छ । गणतन्त्र अन्त्यको घोषणा नगरी राष्ट्रपति बहाल रहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको रुपमा सत्तामा फर्किन सहमति जनाउलान् भन्ने आधार देखिदैन ।

यस्तो अवस्थामा अब कस्को नेतृत्वमा कस्तो सरकार बन्ला ? र, त्यसले विद्रोही युवाहरुका, आम नागरिकका महत्वाकांक्षाहरुलाई कसरी सम्वोधन गर्ला ? अहिले चौतर्फीरुपमा आलोचित प्रदेश सरकारहरु र संघीय शासन व्यवस्थाको भविश्य के होला ? अहिलेको लागि यी प्रश्नहरु केवल प्रश्न मात्र हुन्, जस्को जवाफ छैन । त्यसको लागि अबको केही दिन वा केही साता कुर्नुपर्छ । त्यतिन्जेल अहिलेको विद्रोहले कस्तो रुप लेला त्यसको लागि पनि अहिलेको लागि कुर्नु बाहेक अर्काे विकल्प छैन ।

प्रतिक्रिया