देशभर डेंगु संक्रमित ३ हजार नाघे

विदुर खबर २०८२ भदौ ४ गते २१:०९

नुवाकोट । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ ।

Advertisement

गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ३०३, कोशीमा ४७, गण्डकीमा २९, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

Advertisement

नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएका थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको छ ।

दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा बिरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा किराहरूबाट सर्ने ‘किटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू-भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।

Advertisement

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकासलगायत कारण हुन् ।

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धिविकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल मानिन्छ ।

किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फूल पार्न सक्छ ।

डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया