विदुरमा एमालको पराजय र अबको विकल्प
–रामचन्द्र भट्ट
हुनतः मैले जीवनमा पहिलो मताधिकार प्रयोग गरेको बिक्रम सम्वत् २०४८ मा हो । बहुदलीय प्रजातन्त्र पुनःस्थापना पछिको पहिलो संसदीय चुनावमा पहिलो मत प्रयोग गरेको थिएँ । तर, चुनावलाई हल्का रुपमा बुझेको र महसुस गरेको भने त्यसको नौ वर्ष पहिलेनै अर्थात २०३९ सालमै हो । जतिखेर तत्कालिन विदुर गाउँ पञ्चायतको चुनाव थियो ।

नौ वर्षको उमेर भएपनि प्रधानपञ्चमा गाउँकै शिवप्रसाद गजुरेल उम्मेदवार थिए । मेरा पिताजीले गजुरेललाई सहयोग गर्नुभएको थियो । घरमा चुनावका रणनीति बन्नेदेखि लिएर पर्चा, पोष्टरहरु थुप्रै हुन्थे । त्यतिखेरको जिल्ला सदरमुकाम रहेको हुँदा विदुर गाउँ पञ्चायतको सिमाना ढुंगेको धोबीखोलादेखि सुरु भएर देबीघाटसम्ममात्र थियो । मेरो गाउँ पिपल्टारनै तीनवटा वडामा विभक्त थियो ।
२०३९ को चुनावमा प्रधानपञ्चमा शिबप्रसादले जिते । उपप्रधानमञ्च भने बट्टार बजारका जनकलाल श्रेष्ठ चुनिए । तत्कालिन ५ नम्बर वडाको वडाध्यक्षमा टंकप्रसाद न्यौपाने निर्वाचित भएका थिए । २०४४ मा जब नगरपञ्चायत बनाइयो त्यतिखेर तत्कालिन त्रिशूली गाउँ पञ्चायत, भैरबी गाउँ पञ्चायतका केही भाग र विदुर गाउँ पञ्चायतलाई पुरै मिलाइएको थियो ।
नगर पंचायत भएपछि विदुरको पहिलो प्रधानपञ्च शिवप्रसादनै निर्वाचित भए । त्यतिखेर उप–प्रधानपञ्च भने समाजसेवी लालबहादुर ओझा चुनिए । त्यतिखेर नगरका वडाहरुका सिमानामा व्यापक फेरवदल गरिएको थियो । पिपल्टारको आधा भाग ५ नम्बर वडा र आधा भाग ७ नम्बर वडामा पारियो । ५ नम्बर वडा गंगटेबाट सुरु भएर पिपल्टारको आधासम्म थियो भने ७ नम्बर पिपल्टारबाट सुरु भएर देबीघाटसम्म फैलिएको थियो ।
बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि भएको विदुर नगरपालिकाको चुनावमा नेपाली कांग्रेसबाट मेयरमा शिवप्रसादलाई टिकट दिइयो । त्यतिखेर एमालेबाट उम्मेदवार भएका ठाकुरप्रसाद गजुरेलले बाजी मारे । उपमेयरमा त्रिशूलीका माणिकलाल श्रेष्ठले जिते ।
एमालेले टिकट दिँदा भेगीय र जातीय सन्तुलन मिलाउनका लागि निकै विचार पु¥याएको थियो । तर कांग्रेसले त्यो विचार त पु¥याएन नै । पंचायतकै विभिन्न तहमा निर्वाचित भएकालाई जनआन्दोलनको भावना विपरित टिकट बाँड्यो । २०५४ को नगर निर्वाचनमा समेत त्यही गल्तीलाई फेरि दोहो¥यायो नेपाली कांग्रेसले । त्यसको परिणाम विदुर नगरपालिकामा नेपाली कांग्रेस सदा पछि परिरह्यो । २०७४ मा कांग्रेसले केही सुधार गरेपनि चुनाव जित्न सकेन ।
यसपटक अर्थात २०७९ को चुनाव नुवाकोट एमालेका लागि ठूलो क्षतीको वर्ष बनेको छ । ३० वर्षदेखि एमालेले आफ्नो किल्ला बनाउँदै आएको विदुर नगरबाट हात धोएको छ । २०४९ सालमा देशै भरिका स्थानीय निकायमा नेपाली कांग्रेसले जितेको, नुवाकोटका पनि एमालेले केही गाउँ विकास समितिहरु जितेको थियो । त्यस्तो अवस्थामा समेत एमालेले पकड जमाएको विदुर यसपटक हातबाट गुमेको छ । गंभीर भएर सोच्ने हो भने यो भन्दा ठूलो पीडा एमाले हुँ भन्नेहरुलाई नहुनु पर्ने हो । यो भन्दा ठूलो झड्का अरु कुनै पनि नलाग्नुपर्ने हो ।
तर, एमालेका नेताहरु अझै चेतेका छैनन् । उनीहरुको चेत पलाउन अझै बाँकी छ भन्ने तथ्य बुझ्न गहन बैठक हुन जरुरी पनि छैन । नत कुनै आयोग बनाउन र त्यसको प्रतिवेदन कुर्ननै पर्ने देखिन्छ । आफूले टिकट नपाएपछि किन जिताउने भन्ने सोच हाँडीघोप्टे स्वभावले एमालेले तीन दशकपछि विदुर नगर गुमाएको छ ।
विदुर नगर गुमाउनुमा धेरै कारण एमाले भित्रको आन्तरिक द्वन्द्व होला । थोरै कारणमध्य नगरप्रमुख भएका सञ्जु पण्डितले डेलिभर्ड गर्न नसकेका काम, हुन नसकेका विकास, उनले बेलाबखतमा चिढाएका जनता/मतदाता पनि पक्कै होलान् । टिकटका आकांक्षीहरु बढ्नु, उम्मेदवारी चयनमा खल्तीबाट सूचि निकालेर टिकट दिने परम्परा पनि पक्कै कारण होला । तर अघिल्लो पटकनै आउन दिन नहुने समस्यालाई यसपटक पनि जब निरन्तरता दिइयो । त्यसको कारणले पनि यसपटक एमालेले विदुर गुमाएको ठोकुवा गर्न गाह्रो छैन ।
मैले माथि सुरुमै विदुर गाउँ पञ्चायतका लागि २०३९ सालमा भएको चुनावको प्रसंग उठाइसकेको छु । त्यतिखेर प्रधानपञ्च खस ब्राह्मण समुदायका थिए । उपप्रधान भने नेवार समुदायबाट निर्वाचित भएका थिए । २०४९ र २०५४ मा एमालेले टिकट वितरण गर्दा उपमेयरमा नेवार समुदायबाट माणिकलाल श्रेष्ठलाई खडा गरेको थियो । त्यसले गर्दा एमालेले सहजै जीत हाँसिल गरेको थियो ।
कसैलाई अप्रिय लाग्न पनि सक्छ । वर्ग, जातका कुरा उठाउनु ठीक होइन भन्ने कुरा नमिठो पनि हुनसक्छ । तर विचार, सिद्धान्तले मात्र देश, शासन, पार्टी, सरकार, संगठन चल्दैनन् । ती सबै बन्ने भनेको व्यक्ति मिलेर हो । हरेक व्यक्तिका फरक फरक सोच हुन्छन् । त्यो सोचले कहिलेकाँही सिद्धान्त, नीतिलाई भुल्छ ।
जतिसुकै आदर्शका कुरा गरेपनि राजधानी काठमाडौंमा कुनै सुदूरपश्चिमका दुईजना भेटिए भने तिनले आफ्नै भेगमा बोलिने भाषामा कुरा गर्न थालिहाल्छन् । तराईका कुनै दुई बाटामा भेटिए भने मैथिलीमा कुराकानी गर्न सुरु गर्छन् । दुई नेवार भेट हुँदा उनीहरुले पनि आफ्नो मातृभाषामा कुरा थाल्छन् । यसले के प्रष्ट पार्छ भने मानिसलाई प्रभावमा पार्नुछ भने भाषा मार्फत सबैभन्दा सहज हुन्छ ।
दक्षिण अफ्रिकाका स्वतन्त्र सेनानी नेल्सन मण्डेलाले भनेका थिए–‘यदी तिमीले अरुले बुझ्ने भाषामा कुराकानी ग¥यौ भने त्यो सुन्ने श्रोताको दिमागमा बस्छ । तर तिमीले उसले बोल्ने भाषामा कुराकानी ग¥यौ भने त्यो उसको हृदयमा गएर बस्छ ।’
हो, एमालेले भाइटल पोजिसनमा उम्मेदवारी दिँदा यसपटक चुकेको परिणामले निर्वाचन परिणाम प्रतिकुल आएको हो । अघिल्लो पटक मेयर, उपमेयर जसरी खस आर्य समुदायबाटै दिइयो । यसपटक त्यो गल्तीलाई निरन्तरता दिनु एमालेका नेताहरुका गंभीर लापरवाही र हेलचक्राई हो ।
विदुर नगरपालिकाका त्रिशूली, बट्टार, गंगटे, देबीघाट, विदुर, नुवाकोट जस्ता घना आवादी भएका वस्तीहरुमा नेवार समुदायको बाहुल्यता छ । तर मुख्य पदमा एमालेले उम्मेदवारी दिनका लागि जुन हिसाबले चुक्यो त्यसको असर चुनावमा देखियो । त्यसको फाइदा नेपाली कांग्रेस लगायत गठवन्धनले यसपटक व्यवस्थित साथ उठाएको देखिएको छ ।
यसपटक कांग्रेसले विदुरको इतिहासमै पहिलोपटक नेवार समुदायबाट मेयरको उम्मेदवार बनायो । त्यसले गर्दा नेवार समुदायको अधिकांश भोट कांग्रेसका राजन श्रेष्ठले लिन सफल भए । विदुर नपाका नेवार समुदाय लामो समयदेखि नेतृत्वका लागि लालायीत रहेको तथ्य बाहिर आइरहेकै थिए । ३५ वर्षदेखि अरुलाई बोकेर हिँडेको यो समुदायबाटै एमालेले उम्मेदवार दिएको भए शायद जित्ने थियो या हारेकै भएपनि यति ठूलो मतान्तर हुने थिएन भन्ने एउटा अनुमान गर्न सकिन्छ ।
एमाले यसपटक जिल्लाका स्थानीय निकायमा पखालिएको छ । २०४९ सालको भन्दा पनि दयनीय अवस्थामा पुगेको छ । यसको कारण पक्कै एमालेले निकालिसक्यो पनि होला । विवेक प्रयोग गरेर आगामी दिनमा सुध्रिने कि अब सत्यानाशको बाटो रोज्ने नुवाकोट एमालेका नेता, कार्यकर्ताहरुका लागि यी दुई बाटामात्र अघिल्तिर छन् ।
त्रिशुली प्रवाह साप्ताहिकबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया