म गठबन्धनलाई धोका दिन्न : प्रधानमन्त्री देउवा

विदुर खबर २०७९ वैशाख ३ गते २१:२५

नुवाकोट । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूलाई धोका दिन नमिल्ने बताएका छन् ।

Advertisement

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले कांग्रेस जिम्मेवार पार्टीको रुपमा परिचित रहेको भन्दै पार्टी र गठबन्धनको निर्णयअनुसार सहयात्री दलहरूलाई धोका दिन नमिल्ने बताएका हुन् ।

‘मैले त ओलीले संसद् विघटन गर्दा नै चुनावमा जाऔँ भनेकै हुँ । त्यो बेला सबैले गठबन्धन भनेर मलाई त्यस्ता लगेको हो । म पार्टीको निर्णयअनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको हुँ,’ बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने, ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’

Advertisement

प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्ने बताएका थिए ।

सहमहामन्त्री राठोरले बैठकमा नेताहरूले फरक–फरक धारणा राखेपनि स्थानीय अवस्था र आवश्यकतामा आधारित गठबन्धन गरेर अघि बढ्नुपर्ने निष्कर्ष रहेको बताए ।

Advertisement

‘नेताहरूले स्थानीय अवस्थाअनुसार कुरा राख्नुभयो । तर, गठबन्धन नगर्ने भन्ने कुरा छैन । महानगरपालिका र उपमहानगरपालिकामा समेत गठबन्धन गरेर जानुपर्छ भन्ने नै हो,’ उनले भने, ‘तर गठबन्धन गर्दा स्थानीय साथीहरूको भावनालाई बुझेर नै अघि बढ्नुपर्छ ।’

सहमहामन्त्री राठोर देशभर गठबन्धनको तयारी भइरहेको र त्यहीअनुसार केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने बताए ।

‘भरतपुरको मेयर अहिले माओवादी केन्द्रको छ । गठबन्धन भएपछि आफूले जितेर काम गरेको ठाउँमा माओवादीले पुनः दाबी गर्ने कुरा स्वभाविक हो,’ राठोरले भने, ‘तालमेल गरेर जाँदा भरतपुर फेरि पनि माओवादी केन्द्रको प्राथमिकतामा पर्न सक्छ । हामीले दिनुपर्ने अवस्था हुनसक्छ ।’


प्रतिक्रिया