प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान
नुवाकोट । संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । सर्वदलीय बैठकमा सहभागी हुनका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाइएको जानकारी दिँदै प्रमुख स्वकीय सचिव देउवाले संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री गम्भीर रहेको नेपाल समाचारपत्रलाई बताउनुभयो ।
शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तामा संसद् बैठक चालु गर्न र एमसीसीको बारेमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउन सहमति भएको थियो । एमालेले भने प्रधामन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने यसअघिको अडान कायमै रहेको छ । गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक र प्रधानमन्त्री शेरबहादुर देउवाले असोज १४ गते बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आफ्नो दलले कारबाही गरेका १४ सांसदको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ ।
गत मंसिर २८ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ । यही पुस ६ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा एमालेलाई मनाएर संसद्को गतिरोध खोल्ने प्रयासस्वरूप सरकारले सर्वदलीय बैठक आह्वान गरिएको हो । एमालेले सभामुखले सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाले नै राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।
सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने गृहकार्य अगाडि बढाएको छ । यस्तै सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल पनि एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा देखिएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले एमालेले संसद् अवरुद्ध गरिरहेकाले पहिलो काम संसद् चालु गर्नु रहेको र त्यसपछि मात्र अन्य एजेन्डा अगाडि बढ्ने बताउनुभयो । एमसीसीको विषयमा सरकारभित्र रहेका दल र बाहिर रहेका दलहरूको व्यापक विरोध रहेको जिकिर गर्दै उहाँले भन्नुभयो – ‘कतिपय बुँदा संशोधन नभई जस्ताको तस्तै पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं ।’ देश र जनताको हितलाई केन्द्रमा राखेर मात्र एमसीसी पारित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘असमान शर्तहरू सच्याउनुपर्छ, देशको हित विपरीतको सम्झौता हुन सक्दैन ।’
झारो टार्ने बैठकमा जाँदैनौं : तामाङ
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले सहभागी नहुने भएको छ । प्रधानन्त्रीले बैठकमा सहभागी हुन औपचारिक जानकारी गराए पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै एमाले सहभागी नहुने भएको हो ।
एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘समस्या समाधान गर्न सत्ता पक्ष र प्रतिपक्षबीच मात्र सहमतिको खाँचो छ, सर्वदलीय बैठक बोलाएर समस्याको समाधान हुँदैन । सत्ता पक्ष र प्रतिपक्षको बीचमा राष्ट्रिय महत्वको धेरै एजेन्डा रहेको छ, सभामुख र न्यायालयको विषयमा छलफल हुन जरुरी छ, कर्मकाण्डी र झारो टार्ने बैठकमा हामी सहभागी हुँदैनौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया