प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

विदुर खबर २०७८ पुष ४ गते ९:०१

नुवाकोट । संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

Advertisement

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । सर्वदलीय बैठकमा सहभागी हुनका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाइएको जानकारी दिँदै प्रमुख स्वकीय सचिव देउवाले संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री गम्भीर रहेको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तामा संसद् बैठक चालु गर्न र एमसीसीको बारेमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउन सहमति भएको थियो । एमालेले भने प्रधामन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने यसअघिको अडान कायमै रहेको छ । गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक र प्रधानमन्त्री शेरबहादुर देउवाले असोज १४ गते बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आफ्नो दलले कारबाही गरेका १४ सांसदको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ ।

Advertisement

गत मंसिर २८ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ । यही पुस ६ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा एमालेलाई मनाएर संसद्को गतिरोध खोल्ने प्रयासस्वरूप सरकारले सर्वदलीय बैठक आह्वान गरिएको हो । एमालेले सभामुखले सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाले नै राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।

सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने गृहकार्य अगाडि बढाएको छ । यस्तै सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल पनि एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा देखिएका छन् ।

Advertisement

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले एमालेले संसद् अवरुद्ध गरिरहेकाले पहिलो काम संसद् चालु गर्नु रहेको र त्यसपछि मात्र अन्य एजेन्डा अगाडि बढ्ने बताउनुभयो । एमसीसीको विषयमा सरकारभित्र रहेका दल र बाहिर रहेका दलहरूको व्यापक विरोध रहेको जिकिर गर्दै उहाँले भन्नुभयो – ‘कतिपय बुँदा संशोधन नभई जस्ताको तस्तै पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं ।’ देश र जनताको हितलाई केन्द्रमा राखेर मात्र एमसीसी पारित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘असमान शर्तहरू सच्याउनुपर्छ, देशको हित विपरीतको सम्झौता हुन सक्दैन ।’

झारो टार्ने बैठकमा जाँदैनौं : तामाङ
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले सहभागी नहुने भएको छ । प्रधानन्त्रीले बैठकमा सहभागी हुन औपचारिक जानकारी गराए पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै एमाले सहभागी नहुने भएको हो ।

एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘समस्या समाधान गर्न सत्ता पक्ष र प्रतिपक्षबीच मात्र सहमतिको खाँचो छ, सर्वदलीय बैठक बोलाएर समस्याको समाधान हुँदैन । सत्ता पक्ष र प्रतिपक्षको बीचमा राष्ट्रिय महत्वको धेरै एजेन्डा रहेको छ, सभामुख र न्यायालयको विषयमा छलफल हुन जरुरी छ, कर्मकाण्डी र झारो टार्ने बैठकमा हामी सहभागी हुँदैनौं ।’

प्रतिक्रिया