नेकपाको विवाद : कार्यकर्ता मिल्ने शीर्ष नेता भिड्ने तयारीमा

विदुर खबर २०७७ मंसिर ९ गते ९:१०

नुवाकोट । दल नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवाद थप चर्किंदै गएको छ ।

Advertisement

नेकपाको विवाद सहमतितर्फ भन्दा पनि आरोप प्रत्यारोप सँगै झन् चुलिएको हो । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनको लिखित जवाफ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार गरिरहनुभएको छ । सचिवालय बैठक यही मंसिर १३ गतेका लागि बोलाइएको छ । सचिवालय बैठक बस्नुअघि नै केही महत्वपूर्ण सहमति गराउन नेताहरुले दौडधूप गरे पनि अध्यक्षद्वय ओली र प्रचण्ड आ–आफ्नै अडान र रणनीति बनाउन व्यस्त छन् ।

सचिवालय बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहका लागि प्रतिष्ठाको विषय बनेको छ । कार्यकर्ता पार्टी एकताको पक्षमा रहे पनि शीर्ष तहमा देखिएको जुँगाको लडाइँका कारण पार्टी एकता नै संकटमा पर्ने त होइन भन्ने चासो र चिन्ता पनि कार्यकर्तामा देखिएको छ । पाँच वर्ष सरकार सञ्चालन गर्ने गरी जनताले मत दिए पनि तीन वर्ष नपुग्दा नेकपाको आन्तरिक किचलोका कारण पुनः सत्तामोह देखिएको छ ।

Advertisement

सचिवालयमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने ओली पक्षको अडान रहेको छ भने प्रचण्ड पक्षले प्रतिवेदन पास गरेर जानुपर्ने अडान लिएको छ । सचिवालय बैठकबाट प्रचण्डको प्रतिवेदन पारित भएको अवस्थामा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुन्छ । तर ओलीले प्रचण्डले पेस गरेको प्रस्तावको बुँदाबुँँदामा लिखितरुपमा नै जवाफ दिने जानकारी सचिवालय बैठकमा गराइसक्नुभएको छ । पत्र विवादले यति बेला नेकपाभित्र संकट गहिरिँदै गएको छ ।

दुई अध्यक्षलाई मिलाउन दौडधूपमा लाग्नुभएका नेता हरिबोल गजुरेल विचार सिद्धान्तको भन्दा पनि पार्टीभित्र अहिले प्रतिष्ठाको लडाइँ प्रमुख बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘कार्यकर्ता विभाजनको पक्षमा छैनन्, शीर्ष नेताहरुमा देखिएको विवादले कार्यकर्तामा निराशा बढाएको छ, समस्या समाधानका लागि दुवै जना अध्यक्ष नमिल्दासम्म समस्या समाधान हुन गाह्रो छ ।’

Advertisement

सचिवालय बैठक बोलाउन लिखितरुपमा माग गरेपछि अध्यक्ष ओलीले लिखितरुपमा प्रचण्डलाई आक्षेप लगाउने ढंगले पत्र लेख्नु नै विवादको जड हो, ओलीको जवाफमा प्रचण्डले लिखितरुपमा जवाफ दिन अस्वाभाविक पनि होइन, सचिवालय बैठकमा छलफल गरेर निकास निकाल्न सकिन्छ।’ –नेता गजुरेलले भन्नुभयो । यसअघि देखिएका ठूलाठूला विवाद संवादबाटै हल भएको उल्लेख गर्दै उहाँले दुई अध्यक्षबीच बढेको दूरीका कारण पनि समस्या समाधान थप जटिल बन्दै गएको बताउनुभयो ।

 

प्रतिक्रिया