आजबाट दशै शुरु, घरघरमा जमरा राखियो

विदुर खबर २०७७ कार्तिक १ गते २०:०९

नुवाकोट । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ आजदेखि सुरु भएको छ ।

Advertisement

प्रतिपदा (आज) को दिनलाई घटस्थापना भनिन्छ । आजको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ ।

Advertisement

यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी(देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ ।

प्रतिक्रिया