९६ घन्टायता नेपालमा भेटिएनन् नयाँ कोरोना संक्रमित

विदुर खबर २०७६ चैत २६ गते २०:५५

नुवाकोट । विगत ९६ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

बुधबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन्। उनका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र १९६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो।

उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको डा देवकोटाले बताए। उनका अनुसार मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार आइतबार, सोमबार र मंगलबार पनि नयाँ संक्रमित भेटिएका थिएनन्। योसँगै पछिल्लो ९६ घन्टा (४ दिन)यता नयाँ कोरोना संक्रमित नभेटिएका हुन्। शनिबार भने एकैदिन ३ जना कोरोना संक्रमित भेटिएका थिए।

Advertisement

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको ‍थियो। शनिबार कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषकी भाउजू हुन्। उनीहरू तीन र यसअघि नै संक्रमित पुष्टि भएका पुरुषसमेत गरी ४ जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि शनिबार पहिलो पटक नेपालभित्र एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो। गत चैत ४ गतेको कतार एअरको फ्लाइट क्युआर ६५२ बाट नेपाल आएका ३ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यसरी आउने संक्रमितमध्ये काठमाडौंकी एक युवतीको राजधानीको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

प्रतिक्रिया