तीन नम्बर प्रदेशको राजधानीलाई लिएर नेकपाभित्रै विवाद

विदुर खबर २०७६ पुष २३ गते २१:११

प्रदेश नम्बर ३ को नाम र राजधानीका बिषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै तीव्र विवाद छ । नाम र केन्द्रका बिषयमा पूर्व एमाले र माओवादीका सांसदहरु विरोध गरिरहेका छन् ।

नेकपाको सचिवालयले हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी र नाम बागमती राख्न निर्देशन दिएको छ । जुन निर्देशन विरुद्ध ३ नम्बर प्रदेशका सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई जस्ता सांसदहरु देखिएका छन् । नेकपाभित्रै ३ नम्बर प्रदेशको राजधानी हेटौंडाका विषयमा पूर्वमाओवादीका पनि अधिकांश सांसद विरोधमा छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट सांसदहरु हेटौंडा अपायक भए पनि राजधानी हुनुपर्ने पार्टीको निर्णयको बचाउमा लागेका छन् । ओली निकट काठमाडौंबाट निर्वाचित प्रदेश सांसदहरु रामेश्वर फुयाँल, दिपक निरौला, योगेन्द्र संग्रौला र राजेश शाक्य हेटौंडा राजधानी हुनुपर्ने पक्षमा खुलेका छन् ।

त्यसैगरी नुवाकोटका सांसद बद्री मैनाली र केशब पाण्डे, धादिङका डा रामकुमार अधिकारी, ललितपुरका चेतनाथ संजेल र जिवन खड्का, भक्तपुरका शशीजंग थापा पनि हेटौंडाकै पक्षमा देखिएका छन् ।

हेटौंडा अपायक हुन्छ भन्दै ३ नम्बर प्रदेशको राजधानी काभ्रेपलान्चोकको बनेपा भन्नेहरूमा धादिङका राजेन्द्र प्रसाद पाण्डे, दोलखाका पशुपति चौलागाई, विशाल खड्का र रचना खड्का, काठमाडौंका केशब स्थापित, कुसुमकुमार कार्की, प्रकाश श्रेष्ठ, केशव पोखरेल, रमा आले मगर र उर्मिला कर्माचार्य देखिएका छन् ।

त्यस्तै काभ्रेको पक्षमा भक्तपुरका सांसद प्रतिमा श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठ, सिन्धुपाल्चोककी इन्द्रमाया गुरुङ, काभ्रेका वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, रत्न ढकाल, चन्द्र लामा र नुवाकोटका हिरानाथ खतिवडा छन् ।

काभ्रे राजधानी हुनुपर्छ भन्नेमा पार्टीभित्रको गुटका आधारमा माधव नेपाल पक्ष बढी देखिएका छन् । यसरी हेटौंडा राजधानी बनाउन नेकपाले दिएको निर्देशनकै बिरुद्ध फ्लोरक्रस हुने संभावना देखिन्छ ।

प्रदेश राजधानीको बिषयमा पार्टीले सांसदहरुलाई ह्वीप लगाए पनि विद्रोह गर्ने धारणा कतिपय सांसदहरुले प्रकट गर्दै आएका छन् । जसका कारण राजधानी र नाम अनुमोदन हुने संभावना कम छ ।

हाम्रा कुराबाट

Advertisement

प्रतिक्रिया