माथिल्लो त्रिशूली थ्री ए बाट व्यावसायिक विद्युत् उत्पादन सुरु
नुवाकोट । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले सोमबारदेखि व्यावासयिक उत्पादन थालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ६० मेगावाटको आयोजनाले व्यावासयिक उत्पादन थालेको हो । प्रधानमन्त्री ओलीले काठमाण्डौबाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले नै पुगेर उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गर्दै आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको बताए । आयोजनाको पहिलो र दोस्रो युनिट (३०÷३० मेगावाट)बाट क्रमशस् गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको हो ।
यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने प्राधिकरणले जनाएको छ । लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो पुग्ने विश्वास छ । यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्नेछ । इमान्दार प्रयास भयो भने जतिसुकै समस्यामा फसेका आयोजना सम्पन्न हुन सक्छन् भन्ने तथ्य सो आयोजनाले स्थापित गरेको छ । रुग्ण बनेका आयोजना सफल बनाउन ठूलै मेहनत चाहिन्छ । राजनीतिक नेतृत्वदेखि कर्मचारीको समेत सकारात्मक प्रयासले काम गर्छ ।
सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको छ । महत्वका हिसाबले अग्रपङ्क्तिमा रहेका आयोजनाको सानो सफलताले पनि ठूलो अर्थ राख्छ । सरकारले काम गरेन, गफ मात्रै लगाएर बस्यो भन्नेका लागि पनि पछिल्ला दिनका सुखद खबर राम्रै जवाफ हुन सक्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइन निर्माणको सबैभन्दा जटिलता भनेकै हरेक टावर एउटा आयोजना जस्तै कठिन बन्नु र बनाइनु नै हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गदर्शन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियमित खटाइले रुग्ण आयोजना सम्पन्न भई नियमित विद्युत् उत्पादन गरी उद्घाटन हुने चरणमा आइपुगेको हो । कहिले क्षमता वृद्धि, कहिले गोरखा भूकम्प तथा कहिले निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण समस्यामा फसेको र प्राधिकरणको समेत टाउको दुखाइको विषय बन्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को दोस्रो युनिटले पनि गत साउन १५ गतेदेखि परीक्षण उत्पादन गरेको थियो ।
लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ । रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामकारवाही परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा सफलता मिलेको हो । आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ । अनुमानित लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।
शुरुमा विसं २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत चिनियाँ कम्पनीसँग रु आठ अर्ब ९१ करोड ७८ लाख (आठ करोड ९१ लाख ७८ हजार डलर) मा ठेक्का सम्झौता भएको थियो । शुरुमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो । ‘गोरखा भूकम्प’को कहरले आयोजनाको निर्माण तालिका झनै प्रभावित हुन पुग्यो । भूकम्प र पहिरोले काबुबाहिरको परिस्थिति उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद गत असार मसान्तसम्म थप गरेको थियो । लामो प्रयासपछि आयोजना सफल भएका कारण रुग्ण आयोजना मात्रै बोकेर प्राधिकरण बस्छ भन्ने आम गुनासोबाट समेत मुक्ति मिलेको छ ।
प्राधिकरणका अनुसार सो आयोजनाबाट करिब नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । यस्तै हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब रु पाँच अर्ब आम्दानी गर्छ । आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया