शपथ लिन डराएकी सावित्रीको संसद यात्रा

विदुर खबर २०७४ चैत ३ गते १५:५२

जनकपुरधाम- नेपालमा महिलाको अवस्था दयनीय छ । त्यसमा पनि तराई मेधसका महिलाको सामाजिक, राजनीतिक उपस्थिति निकै कमजोर छ । खास गरेर महिला घरेलु काममा र चुलोचौकामा मात्र व्यस्त रहने प्रवृति रहेको छ । तर संविधानले संसद, स्थानीय तह लगायतका महिलाको प्रतिनिधित्व अनिवार्य गरेसँगै उनीहरुको यी पदहरुमा उपस्थिति भएको हो ।

Advertisement

घर व्यवहारमा मात्र सिमित हुने महिलालाई ६२ बर्षको उमेरमा अचानक राजनीतिमा ल्याए कस्तो हुन्छ ? यस्तै भएको छ प्रदेश नं.२ को प्रदेशसभामा ।

सर्लाही ब्रम्हपुरी गाउँपालिका २ कि ६२ वर्षीया सावित्री देवी साह प्रदेशसभामा समानुपातिक सांसद बनेकी छन् । नेपाल संघीय समाजवादी पार्टीले उनलाई समानुपातिक सांसदमा सिफारिस गरेपछि उनी उक्त पार्टीबाट सांसदको रुपमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक्लो महिला सदस्य बनेकी छिन् ।

Advertisement

साह सांसदमा सिफारिस हुनुभन्दा अघि उनको दैनिकी चुलो चौका, परिवार चलाउने घर व्यवहार मिलाउने थियो । तर, अचानक उनको दुनियाँ नै परिवर्तन भएको छ ।

४५ वर्ष अघि भारतको विहारबाट म्याट्रिक परीक्षा पास गरेपनि अध्ययनको क्रम छाडेका कारण उनलाई पढ्ने बानीसमेत छुटेको थियो । तर सावित्रीलाई संसदको बैठकमा अहिले दिनहु जसो मन्तव्य राख्नु पर्ने हुन्छ ।
संसदमा उनी हिन्दी भाषामा लेखिएको मन्तव्य बाचन गर्ने गर्छिन् ।

Advertisement

सदनमा बोल्नका लागि मन्तव्य उनका पतिले लेखिदिने गरेका छन् । पतिले लेखिदिएको भाषण उनले १० देखि १५ पटकसम्म पढेर अध्ययन गर्ने गरेकी छिन् ।

उनी सदनमा बोल्दा कतिपयले उनको कुरा काट्ने गर्छन् भने कतिपयले विस्तारै सिकिन्छ भन्दै हौसला प्रदान गर्छन् ।

माइती भारत विहारको सितामढीमा भएकी सावित्रीले नेपाली भाषा बुझ्दिनन् । उनलाई हिन्दी मैथिली रठेठी भाषा बोल्न आएपनि समूहमा भने उनी बोल्न सक्दिनन् ।

प्रदेशसभा सांसदको शपथ ग्रहण समारोह जनकपुरको उद्योग बाणिज्यसंघमा आयोजन गरिएको बेला सांसद सावित्री देवी साह निकै डराएकी थिईन् ।

शपथ त जसो तसो उनले लिईन तर जब सांसदहरुलाई सम्मान गर्ने कुरा आयो उनी निकै डराइन् ।

पालै पालो सांसदहरुलाई सम्मानका लागि मञ्चमा बोलाइयो, त्यतिबेला उनको खुट्टा चल्ने अवस्थामा थिएन् । डरका कारण उनको धड्कन निकै बढेको थियो ।
‘त्यो दिन म धेरै डराएकी थिएँ । जसो तसो मञ्चमा त पुगें तर पुग्ने वितिकै जब मलाई सम्मान गरियो मेरो जिऊ थरथर काप्न थाल्यो ’  सांसद साहले भनिन् ‘यस्तो अनुभुति भईरहेको थियो कि आज नै मलाई सबैभन्दा वढी जाडो लागिरहेको छ ।’

शपथ लिन डराउनेलाई भाषणको झमेला

पद तथा गोपनियताको शपथ लिन समेत डराएकी सावित्रीलाई अर्को समस्या प¥यो । प्रदेशसभाको पहिलो बैठकमै उनले ड्यासम गएर आफ्ना भनाइ राख्नु पर्ने भयो । प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीले नाम बोलाएपछि उनी ड्यासमा पुगिन् श्रीमानले लेखेर दिएको मन्तव्य डराउँदै जसोतसो पढिन् ।

‘विस्तारै विस्तारै अक्षर चिन्दै पढेर भाषण गरें ।  मलाई अत्यन्तै नराम्रो लागिरहेको थियो । किनभने त्यस अगाडिसम्म मैले यति धेरै मानिसहरुकाबीच कहिल्यै पनि बोलेको थिईन’ सांसद सावित्रीले भनिन् ।
उनको पार्टीको तर्फबाट उनी एक मात्र महिला सांसद भएकी कारण संसदको प्रत्येक जसो समितिमा उनी सदस्य छिन् ।

सदनमा राजनीतिक दलको तर्फबाट मनतव्य राख्नुपर्ने अवसर आउँदा सावित्रीलाई पनि अनिवार्य रुपमा बोल्ने मौका दिने गरिन्छ । अब विस्तारै उनी खुल्दै गएकी छिन् । सावित्री भन्छिन्,‘जुन दिन मलाई आफ्नै मनले बोल्न आउन थाल्छ र भाषण गर्न सक्छु त्यो दिन मात्र आफू सफल भएँ भन्ने अनुभुति हुनेछ ।’ हुन त सदनमा उनीभन्दा पनि कमजोर वा भनौं निरक्षर महिला सांसद पनि नभएको होईन । तर, उनीहरुलाई सदनमा आएर बोल्नु पर्दैन त्यसैले अरुलाई खासै असर नपरेपनि आफूलाई धेरै असर परिरहेको उनी बताउँछिन् ।

पतिको साथ

सांसद सावित्रीका पति सिताराम साह राजनीतिक व्यक्ति हुन् । उनी प्रत्येक दिन आफ्नी पत्नीलाई लिएर सदनमा आउने गर्छन् । सँगै लिएर घर फर्किने गर्छन् । प्रत्येक दिन पत्नीलाई पढाउने गर्छन् । चुलो चौकामा मात्र व्यस्त हुने सावित्री अचेल दैनिक रुपमा पत्रपत्रिका पढ्न थालेकी छिन् ।

सिताराम साह रिझवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टीको संस्थापक केन्द्रिय सदस्य हुन् । उक्त पार्टीले समानुपातिक पदमा ४३ जनाको नाम सिफारिस गरेको थियो । तर, मत परिणाम अनुसार एउटा मात्रै मधेसी महिलाको सिट उक्त पार्टीको भागमा परेको थियो । पार्टीका केन्द्रिय अध्यक्ष अन्सारीको आदेश र सुझाव अनुसार सावित्री देवीको नाम सिफारिस गरिएको थियो ।

सिफारिस गरेपछि विरोध जनाउँदै आएकी सावित्रीले आफू राजनीतिमा कुनै पनि हालतमा नजाने अडान राखिरहिन । तर, उनको केही पनि चलेन । जब उनी सांसदको रुपमा शपथ लिईन तब पनि उनी आफू सांसद नबन्ने, घर परिवारमै ठिक छु भनेर भनिरहेकी थिईन् । पार्टी अध्यक्ष अन्सारीले विस्तारै सबै ठिक हुन्छ भनेर भनेपछि उनी अब विस्तारै राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।

सांसद सावित्रीका पति सिताराम भन्छन्,“ मैले कहिल्यै पनि सोचेको थिईन कि मेरी पत्नी सांसद बन्ने छिन् ।  अहिले उनलाई घुलमिल हुन केही अप्ठयारो भएपनि पछि उनी राजनीतिमा स्थापित हुने विश्वास छ ।”

प्रतिक्रिया