हिरो’देखि ‘मालिका’ सम्म रेखा थापा

विदुर खबर २०७६ भदौ ६ गते १९:४८
करीब डेढ दशकदेखि नेपाली फिल्ममा सक्रिय एक समयकी ‘नम्बर वान अभिनेत्री’ रेखा थापाले आज (भाद्र ५ गते बिहीबार) आफ्नो जन्मदिन मनाउँदै छिन् । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनी अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार, गायिका पनि हुन् । पूर्व पति तथा निर्माता छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको थालनी गरेकी उनको पछिल्लो फिल्म ‘मालिका’ हो ।
कुनै समय नेपाली फिल्मकी उनी निर्विकल्प अभिनेत्री थिइन् । उनलाई लिएपछि फिल्मले बक्सअफिसमा हिटको व्यापार गर्ने विश्वास मेकरमा थियो । तर, पछिल्लो समय उनको चार्म र स्टारडममा कमी आएको छ । नयाँ छिमलका अभिनेत्रीको प्रवेश बाक्लिएसँगै उनको एक दशक लामो राज लगभग तोडिएको छ । एक्सन भूमिकामा निकै रुचाइएकी उनले २ सयको आसपासमा फिल्म गरेकी छन् । उनी अभिनीत प्रायः फिल्म बक्सअफिसमा सफल छन् ।
रेखा अभिनीत ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘कस्ले चोर्‍यो मेरो मन’ जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ, जुन फिल्मले व्यापारिक सफलता पनि हासिल गरेका छन् । पर्दामा अभिनेत्री थापाको प्रतिष्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग उनको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा कसको जित भयो ? त्यो ईतिहास बोल्नेछ । पर्दामा निकै सफल रहेकी उनको बैबाहिक जीवन भने सुखद रहन सकेन । फिल्म ‘हिरो’ खेले लगत्तै निर्माता ओझासँग उनले लगनगाँठो कसेकी थिइन् । तर, वैचारिक मतभेदका कारण करीब १२ वर्षपछि रेखा र छविले छुटिने निर्णय लिए । छविसँग छुटिएपछि उनले आफ्नो नाममा दर्ता भएको कम्पनी रेखा फिल्मस्बाट प्रत्येक वर्ष एक फिल्म निर्माण गर्दै आइरहेकी छन् । यस वर्ष उनी नयाँ फिल्म बनाउने तयारीमा छिन् ।
तीन फिल्मको आफैंले क्याप्टेनसिप सम्हालेकी उनी अभिनयमा झैँ निर्देशकको रुपमा भने जम्न सकिनन् । उनी निर्देशित फिल्म ‘हिम्मतवाली’ जेनतेन सफल भए पनि ‘रुद्रप्रिया’ र ‘मालिका’ ले बक्सअफिसमा फ्लपको व्यापार गरेका थिए । त्यसैले यसपटक उनले पुनः फिल्मको निर्देशन गर्ने जोखिम मोल्ने हिम्मत जुटाउन सकिनन् । नयाँ फिल्मको निर्देशन गर्ने जिम्मा ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राईलाई सुम्पिएकी छन् ।  करिअरको उत्कर्षमा रहँदा अभिनेत्री थापाले एमाओवादीमा प्रवेश गरिन् । गएको दुई वर्ष अगाडि माओवादी छाड्दै उनले कमल थापा नेतृत्वको राप्रपा नेपाल चुनिन् । यो पाटीमा पनि उनी लामो समय टिक्न सकिनन् । गएको वर्ष उनले पशुपति शम्शेर राणा समुहको राप्रपा प्रजातान्त्रिक रोजिन् । एक समय फिल्ममा छोटा पहिरन लगाएका कारण उनको निकै चर्चा हुन्थ्यो । उनलाई नेपाली फिल्ममा पहिलो पटक छोटा कपडामा अभिनय गर्ने नायिका समेत भनिन्छ ।

प्रतिक्रिया