कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री फरार

विदुर खबर २०७६ भदौ १ गते १७:१९

नुवाकोट, गत साउन २७ गते तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी भएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री अझै फरार छन्।

Advertisement

उच्च अदालत पाटनको वाणिज्य इजलासले मन्त्री खत्रीलाई पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको एक हप्ता पुग्नै लाग्दासमेत उनी फरार छन्। प्रहरी कार्यालयमा कागज गर्न उपस्थित भएका उनी मिलेमतोमा उम्कन सफल भएर अहिलेसम्म फेला पर्न सकेका छैनन्। खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो। कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतले ठहर गर्दै पक्राउ आदेश जारी गरेको हो।

उच्च अदालतमा पेसी चढेका दिन मन्त्री खत्री सुर्खेतबाट काठमाडौं आएका थिए। उनी उक्त मुद्दाको सुनुवाइका दिन काठमाडौं आइपुगे पनि अदालतमा भने उपस्थित भएनन्। त्यसपछि अदालतले उनलाई पक्राउ गरेर तीन दिनभित्र बुझाउन भन्दै प्रहरी महानिरीक्षकसम्मलाई निर्देशन दिएको थियो।

Advertisement

तर, उनी अझै फरार छन्। यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विश्वराज पोखरेलले मन्त्री खत्रीको खोजी भइरहेको बताए। ‘अदालतबाटै पक्राउ गरी बुझाउनु भन्ने जानकारी आएसँगै प्रहरी उनलाई खोजी गर्न जुटेको छ। अहिलेसम्म उनी फेला पर्न सकेका छैनन्। फेला पर्नासाथ अदालतसमक्ष पेस गर्छौं।’

काठमाडौंबाटै गायव भएका उनी अहिलेसम्म पक्राउ नपर्नुले शक्तिको आडका उनी पक्राउ नपरको हुनसक्ने आशंका पनि गरिएको छ।

Advertisement

मन्त्री खत्री सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सांसद विजयी भएका थिए। तत्कालीन एमालेको कोटाबाट उनी कर्णालीको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका थिए।

उनकै पार्टी अहिले सत्तामा छ। सोही शक्तिको आडका कारण उनलाई तत्कालै पक्राउ नगर्न दबाब परेकाले पक्राउ नपरेको स्रोत बताउँछ।

प्रतिक्रिया