तीन दिनसम्म भारी वर्षाको सम्भावना
नुवाकोट, मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो÷भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पूर्व र मध्यका तराई तथा चुरेका केही स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार आज राति देशभरी सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शनिबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पश्चिमी तथा मध्य भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आगामी भदौ १ गते आइतबार पनि देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया