‘बोक्सी’काण्डमा ‘मेलमिलाप’ गराउने मेयरलाई उन्मुक्ति ?

विदुर खबर २०७४ फागुन २६ गते ८:३९

२६ फागुन, कैलाली । बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई भने कानूनले छुन सकेन । मेयर चौधरी सत्तारुढ नेकपा एमालेका नेता हुन् ।

Advertisement

घोडाघडी नगरपालिका ५ देउकलीमा एक छात्रालाई बोक्सीको आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट भएको घटनामा भिडियो प्रमाणसहित पक्राउ परेका दोषीलाई सोही नगरपालिकाका मेयर चौधरीको रोहबरमा ‘मिलापत्र’ गरेर छुटाइएको थियो । तर, यो घटना मिडियामा आएपछि मात्र दोषीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जघन्य फौजदारी अपराधमा सप्रमाण समातिएका व्यक्तिलाई मिलापत्र गरी छुटाउने कार्यमा मेयर ममताप्रसादका साथै सोही वडाका वडाध्यक्ष प्रेम रोकायाको पनि संलग्नता रहेको स्थानीय प्रहरीको भनाइ छ ।

Advertisement

‘बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई हामीले मेयरसा’बकै रोहबरमा रिहा गरेका हौं,’ सुख्खड प्रहरी कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘रिहा गर्ने कागजमा मेयरसाप र वडाध्यक्ष समेतको हस्ताक्षर छ ।’

प्रहरीले मिलापत्रमा हस्ताक्षर छ भने पनि मेयर चौधरीले आफू प्रहरी कार्यालयमा केहीबेर रमित हेरेर फर्किएको मिडियालाई प्रतिक्रिया दिएका छन् । तर, उनले यो घटना हेर्ने काम प्रहरीको हो भन्दै जघन्य अपराधको घटनाको निन्दामा एक शब्द पनि बोलेका छैनन् । उनी अहिलेसम्म पीडककै पक्षमा उदार देखिएका छन् ।

Advertisement

भिडियोमा हेर्नुस्

मिलापत्र गराउने प्रहरीमाथि कारवाहीमा हुने

बोक्सीको आरोपमा समातिएका पीडक विरुद्ध जाहेरी लिन नमान्ने र मिलापत्र गराउने कार्यमा संलग्न प्रहरीमाथि कारवाही गरिने कैलालीका डीएसपी सागर बोहोराले बताएका छन् ।

एमालेको विधानको धारा ४९ मा कुनै नैतिक पतन देखिने फौजदारी अपराध गरेमा वा छुवाछुत वा जातीय भेदभाद वा लैंगिक हिंसाजन्य क्रियाकलाप गर्ने कार्यकर्तालाई स्पष्टीकरण सोध्ने र निष्काशनसम्मको अनुशासनको कारवाही गरिने उल्लेख छ

नेपालको कानूनले स्थानीय तहका जनप्रतिनिधिलाई निलम्बनको कारवाही गर्ने स्पष्ट प्रावधान राखेको छैन ।

तर, यसको अर्थ, बलात्कार, हत्या, कुटपिट, बोक्सीकाण्ड आदि जघन्य अपराधमा मतियारको भूमिका खेल्ने जनप्रतिनिधिलाई कानूनभन्दा माथि रहने छुट रहनेछ भनेर कल्पना गर्न सकिँदैन । किनभने लोकतन्त्रमा कानूनभन्दा माथि कोही पनि हुँदैन ।

मेयर चौधरी नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् । एमालेको विधानको धारा ४९ मा कुनै नैतिक पतन देखिने फौजदारी अपराध गरेमा वा छुवाछुत वा जातीय भेदभाद वा लैंगिक हिंसाजन्य क्रियाकलाप गर्ने कार्यकर्तालाई स्पष्टीकरण सोध्ने र निष्काशनसम्मको अनुशासनको कारवाही गरिने उल्लेख छ ।

यसैवीच बोक्सीको आरोपमा पुनः पक्राउ परेका स्थानीय कथित झाँक्री रामबहादुर चौधरीविरुद्ध पीडितका आफन्तले जाहेरी दर्ता गरेका छन् । तर, कुटपिटमा संलग्न पार्वती नाम गरेकी युवती र अर्का एक सहयोगी भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते बनेकी छात्राको धनगढी अस्पतालमा उपचार भइरहेको छ ।

आजको नयाँपत्रिका दैनिकमा प्रकाशित मेयर चौधरीको अन्तरवार्ता यस्तो छः

मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

जाहेरी कसले दिएको हो ?

पीडित पक्षले ।

जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?

हिजो नै भयो ।

कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?

हो, म एकैछिन पुगेको थिएँ ।

कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?

अहँ, किन लिनु र ?

होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?

मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

त्यसोभए किन जानुभएको त चौकीमा ?

बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?

हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?

हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?

काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?

हो, भर्खर ४० वर्षको भएँ ।

युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?

त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?

जानकारी भएन ।

आफ्नो नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?

मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?

त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आˆनो गाउँ-टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?

मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?

तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू

भन्नोस् ।

नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदोरहेछ ?

त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।

तर, आजसम्म जे भयो भयो, पीडितहरू अस्पतालमा छन्, मिल्यो भने भोलि गएर भेटिदिनुहोला, उनका गुनासा सुनिदिनुहोला । कारबाही के भयो भनेर हामी भोलि पनि फोन गर्छौँ…

ठीकै छ, बिहानै नगर्नुहोला, बेलुका गर्नुहोला ।

प्रतिक्रिया