‘रसुवा पानी’ बजारमा, ‘अन्तर्राष्ट्रिय स्तरमा हिमाली पानी खुवाएर नेपाल चिनाउने’

विदुर खबर २०७६ साउन १७ गते १६:५१

नुवाकोट, हिमाली पानी विश्वका मानिसलाई खुवाउने र देशलाई चिनाउने उद्देश्यसहित रसुवा पानी लञ्चिङ भएको छ ।

Advertisement

रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको हो । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा २ वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ बैशाखमा निर्माण सम्पन्न भएको हो । शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले रसुवा पानीको लञ्च गरेकी हुन् । उद्योगबाट उत्पादित पानी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने रुद्र गंगा नेचुरल वाटर प्रालिका अध्यक्ष गणेशबहादुर भण्डारीले बताए ।

काठमाडौँबाट १७० किलो मिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्नेछ । रसुवा पानी ३३० मिलिलिटर, ५ सय मिलिलिटर र १ हजार मिलिटिटरको बोटलमा उपलब्ध हुनेछ । पहिलो चोटी १८ लिटरको जारमा हिमालको पानी देशभर उपलब्ध हुने म्यानेजिङ डिरेक्टर सञ्जीव डीएमले बताए ।

Advertisement

अत्याधुनिक फूल अटोमिटिक मेशिनबाट यही साउनबाटै व्यवसायिक उत्पादन शुरु भएको रसुवा पानी उद्योग स्थल रसुवाबाटै सिल प्याक भएर आउँछ । काठमाडौँ वा अन्य ठाउँमा पानी भर्ने काम हुँदैन–म्यानेजिङ डिरेक्टर डीएमले बताए । उद्योगमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा ७०-८० जनाले रोजगार पाएका छन् । रसुवा पानीको ब्राण्ड एम्बास्डरमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरको प्याकिङ भएको, नेपाल नै ब्राण्डिङ हुने, रेडपाण्डाको चिन्ह भएकोले पनि रसुवा पानीले अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण स्थान पाउने कम्पनीले आशा राखेको छ । रसुवा पानी तत्कालै देशभरका बजारमा पुग्ने र जापान, हङकङ र चाइना पठाइने छ । आगामी दिनमा युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विश्वभर नै बजार बिस्तार गर्ने लक्ष्य रहेको रुद्रगंगा नेचुरल वाटर प्रालिका अध्यक्ष भण्डारीले बताए ।

Advertisement

प्रतिक्रिया