स्कटल्यान्डविरुद्ध नेपाल १४९ रनमा समेटियो

विदुर खबर २०७४ फागुन २४ गते ११:०९

२४ फागुन, काठमाडौं । जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरुले ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

Advertisement

आफ्नो वरिपरी लगातार विकेट ढलिरहँदा पारसले भने साहसिक प्रत्याक्रमण गरेका थिए । उनले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित कुमार पौडेलले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।

पारसलाई राम्रो साथ दिइरहेका सोमपाल भने १८ रनमा दुर्भाग्यपूर्णरुपमा रुपमा रन आउट भएपछि खेलमा पुनरागमन गर्ने नेपालको प्रयास विफल भएको थियो ।

Advertisement

नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो । खराब र्फममा रहेका उपकप्तान ज्ञानेन्द्र मल्ल केवल एक रन बनाएर दोस्रो ओभरको पहिलो बलमा सरिफद्वारा बोल्ड भए । उनलाई पछ्याउँदै अर्का ओपनर दिलिप नाथले पनि ह्वीटिङ्घमको बलमा एलबीडब्यू आउट भए ।

मध्यक्रमका भरपर्दा ब्याट्सम्यानहरु दिपेन्द्र सिंह ऐरी र शरद भेषावकर पनि असफल भए । दिपेन्द्रले १ रन बनाए भने शरद शून्यमा पेभिलियन फर्किए । शरद आउट हुँदा नेपाल केवल १४ रनमा चार विकेटको अवस्थामा थियो ।

Advertisement

त्यसपछि आएका आरिफ सेखले पनि अघिल्लो म्याचको प्रदर्शन दोहोर्‍याउन सकेनन् । जिम्बाबेविरुद्धको अघिल्लो म्याचमा अर्द्धसतक बनाएका उनी आज २ रनमै आउट भए ।

सातौं विकेटका रुपमा आएका सोमपाल कामीले पारसलाई केही समय राम्रो साथ दिए । तर उनी रनआउट भएपछि नेपाललाई ठूलो धक्का लाग्यो । त्योभन्दा पनि ठूलो धक्का त्यतिबेला लाग्यो जब आक्रामक अर्द्धसतक बनाएर खेलिरहेका पारसले आफ्नो विकेट गुमाए । पारस आउट हुँदा नेपाल १ सय रनमा ७ विकेटको अवस्थामा रह्यो ।

पारस आउट भएपछि नेपालको रन गतिमा ब्रेक लागेको थियो । रोहित पौडेल १५ रन बनाए भने बसन्त रेग्मी २४ रनमा नटअाउट रहे ।

स्कटल्यान्डका लागि प्रारम्भिक फास्ट बलर ह्वीटिङ्घमले ३ विकेट लिए । यसैगरी सरिफले २ विकेट लिए ।

यसअघिको म्याचमा स्कटल्यान्डले हङकङलाई ९१ रनमा अलआउट गरेको थियो भने ६ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो ।

प्रतिक्रिया