हप्तादिन भित्रै नाका सञ्चालन नभए आन्दोलन गर्छौ :रमेश महत

विदुर खबर २०७६ असार ३० गते १८:४३

नेपाली कांग्रेस नुवाकोटले जिल्लामा जोडिएका छहरे खोला, बालाजु–ककनी–त्रिशुली, गल्छी– नुवाकोट, तिनपिप्ले– ओखरपौवा– चाउथे– गल्छी चारवटा राजमार्ग यातायात सञ्चालन गर्न नसकिने गरी बिग्रेको भन्दै सहज यातायात सञ्चालनको व्यवस्था गरिदिन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीसँग मन्त्री महासेठले एकहप्ताभित्र नाका सुचारु गराउने प्रतिबद्धता व्यक्त गरे । यद्यपी बर्षौदेखी बर्खायामका समयमा नुवाकोट बासीले भोग्दै आएको समस्या तत्काल सम्बोधन हुनेमा भने स्थानिय बिश्वस्त हुन सकेका छैनन ।

Advertisement

ज्ञापनपत्र बुझाउन पुगेका कांग्रेस युवा नेता रमेश महतले तोकिएकै समयमा काम सुचारु नभए आन्दोलनमा जाने बताए । उसो त नुवाकोट २०४६ सालपछि बनेका सरकारमा पटकपटक सरकारमा जाने नेतृत्वहरुको क्षेत्र पनि हो, फेरी पनि समस्या बर्षौपिच्छे दोहोरिरहनुमा समस्या कहाँनेर छ, बुझ्ने कोशिस गरेका छौ, प्रश्तुत छ, कांग्रेस नुवाकोट महासमिति सदस्य रमेश महतसँग गरिएको कुराकानी ।


१. राजनीतिक नेतृत्वका हिसाबले नुवाकोट भरिपुर्ण जिल्ला हो, फेरीपनि स्थानिय समस्या अन्य जिल्लामा भन्दा फरक छैन, नेता धेरै हुँदाको नेतृत्वको असक्षमता भोग्न बाध्य भएको हो ?
छहरे–टोखा, सडक पहिला नै पिच भईसकेको छ । गल्छी–देबिघाट लगायतका सडक पनि पहिला नै ठेक्कापट्टा भएर काम भएको हो । तर समयमा काम सम्पन्न नभएका कारण र मर्मतसम्भारमा ध्यान नदिदा बर्खे बजेटको करोडौ रकम प्रत्येक बर्ष माटोमा मिल्दै गएको छ । हिजो कांग्रेसकै समयमा नुवाकोटको बाटो खुलेको कुरालाई बिर्सन मिल्दैन, यस्तोमा नेतृत्वको असक्षमता भन्ने कुरा नै आउँदैन । मात्र कुरा के भने समयमा काम हुन सकेन, अल्झाएर राख्नु भएन भनेर डेलिगेशन गएका हौ ।
२.तर नुवाकोटमा केसी र महतको जुँगाको लडाईले बिकास निर्माणका बिषयमा पनि एकले अर्को समुहको प्रतिष्ठाको लडाईको रुपमा लिने गरेको देखीन्छ नी ?
कसरी त्यस्तो भन्नुभयो, थाहा भएन । अहिले पनि नुवाकोटमा चार लेनको बाटो निर्माणाधिन छ । विगतका १३७ वटा सडकहरु बहुबर्षिय ठेक्कामा राखिएको र अहिले बजेटबिहिन अवस्थामा छन । यस्तोमा बिकासमा हाम्रो प्रतिष्पर्धा अवश्य पनि छ । बिकास रोक्ने गरीको होईन । हिजोका दिनमा लागेका ठेक्का आज पूरा भएन भन्ने सन्दर्भ मात्रै हो ।
३. स्थानिय निकायको संरचनाका हिसाबले बिकास निर्माणमा उसको भुमिका चै के कति ?
तिन तहको सरकार संरचनाको व्यवस्था अहिलेको शासकिय व्यवस्थामा रहेको छ । यद्यपी स्थानिय क्षेत्रले केकति काम गर्ने भनेर अहिले पनि स्पष्ट कार्ययोजना पाईदैन । केन्द्रमा जाँदा स्थानियमा पठाउने, स्थानियले आफ्नो अधिकार क्षेत्र नभएको भन्दै केन्द्रमा पठाउने दोहोरो निति नै अहिलेको बिकास स्थीतिमा बाधक बनेको छ । स्थानिय क्षेत्रका पनि आफ्नै प्राथमिकता हुने भएकाले ठुला योजनामा उसको भुमिका कमजोर देखिएको छ ।
४. पार्टी राजनीतिको कुरा गरौ, कांग्रेसको नेतृत्व चै कस्तो ?
निर्वाचनपछि जुन खालको जनमत आयो, कांग्रेस प्रतिपक्षमा बस्यो । तर सरकार बनेको १४ महिनामा जेजति भुमिका प्रतिपक्षीका हिसाबले देखाउनु पथ्र्यो, त्यो हुन सकेको छैन । सुनकाण्ड, वाईडबडी बिमानमा भएको घोटला सबै जनतालाई थाहा हुनेगरी बाहिर आउँदा पनि कांग्रेसले केही गर्न नसक्नु दुःखद हो ।
५. कांग्रेसमा देउवाको बिकल्प को ?
निर्बिकल्प छैन भने पछाडी बिकल्पहरु हुने नै भए । महाधिवेशन आउँदैछ, त्यसैबाट टुंगो लाग्छ ।
६. तर देउवा अहिले पनि कार्यसमिती भित्र बहुमतमा हुनुहुन्छ, उहाँको बिकल्प कसले दिने ?
कार्यसमितीको कुरा पार्टी भित्रको स्थीति हो । नेतृत्व चयन महाधिवेशनमार्फत हुने कुरा हो । उहाँले अहिलेसम्म गरेका काम कारबाही सबै कांग्रेस सदस्यहरुलाई थाहा नै छ । सबैलाई मिलाएर लाने अवस्थामा अहिलेको स्थीतिभन्दा राम्रो गर्दै जानुभयो भने उहाँ नै हुन पनि सक्नुहोला नभए बिकल्प कांग्रेसीजनले खोज्ने नै छन । रोकेर रोकिन्न ।
७. निर्वाचनमा उठ्नुभयो भने देउवाले हार्नेछन भन्ने तर्फ यहाँको संंकेत हो ?
महाधिवेशनले टुंगो लगाउने कुरा हो । यही अवस्थाको नेतृत्व नभई सुदृढ नेतृत्व आजको आवश्यक्ता हो ।
८. अबको महाधिवेशनमा तपाई फेरी कांग्रेस नुवाकोट सभापतिमा उठ्ने तयारीमा हो ?
अघिल्लो पटक थोरै मतअन्तरले पराजित भएँ । साथीहरुसँग छलफल गरेरै अघि बढ्छु । प्रदेशमै पनि जान तयार छु । सभापतिमा दाबेदारी त रहन्छ नै ।
९. पार्टी परित्याग गर्ने सोच कत्तिको आउँछ ?
कहिल्यै सोचेको छैन । केही समयको लागि नेतृत्व असक्षम भयो भने भोलि सक्षम नेतृत्व पनि आउला । लोकतन्त्रको लागि कांग्रेस जत्तिको पार्टी अरु छैन । कतै जान्न ।
१०. तर बर्तमान प्रधानमन्त्री ओलीले अब नेकपाले ५० बर्ष सरकारको नेतृत्व गर्छ, चुनाबपछि कांग्रेसका दिन ओरालो लाग्न सुरु भसके भनेर भन्दै आईरहनुभएको छ, तपाईहरु कराउनका लागि मात्रै राजनीति गर्ने हो ?
यो उहाँको दिवा सपना हो । सरकार गठन भएको १४ महिनामा उहाँ र उहाँको पार्टीको लोकप्रियता खस्कीसकेको छ । बिकासका कुरा गर्ने पार्टी भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको छ । अहिले नै चुनाब हुने हो भनेपनि हामी सुबिधाजनक सिट प्राप्त गर्छौ । तर अरु बिग्रेर होईन, कांग्रेस आफै सप्रेर अगाडि बढ्न चाहन्छ ।
११. चुनाबमा कांग्रेस पराजित भएपछाडि देउवाको निकै आलोचना भयो, आलोचना गर्ने एकदुई युवा नेतालाई फकाएर पद दिएपछि अहिले नेतृत्व ठिक छ भन्दै तिनै युवा नेता लाग्नुभाछ, कांग्रेसीजनहरु पदलोलुप बढी छन, भन्नेहरु यसै भन्छन नी ?
ककसले पद पाए, त्यो उनीहरुको व्याक्तिगत कुरा हो । तपाईले बिश्वप्रकासको कुरा गर्नुभएको हो भने उहाँलाई सोध्दा हुन्छ, पद पाएर अहिलेको नेतृत्वमा कत्तिको काम गरिरहनुभएको छ, खुसी हुनुहुन्छ भनेर सोध्नुस । बिरोधीहरुलाई पद दिएर नेतृत्वको बचाउ गर्ने टालटुले निती हो । भोली अर्कोले बिरोध गर्ला सबैलाई पद नपुग्ला अनि के गर्ने । अहिले पनि नेतृत्वको कार्यक्षमतामाथि त प्रश्न उठेकै छ । समाधान कसरी भयो त ।
१२. अबको राजनीति कसरी अगाडि बढ्छ ?
नेपाली कांग्रेसकै पालामा संबिधान आयो । तिनवटै स्थानिय तहमा गरी ३७ हजार भन्दा धेरै जनप्रतिनिधीलाई तलबभत्ता खुवाउनुपर्ने स्थीति छ । यस्तोमा प्रशासनिक खर्च बढि बिकास कम भईरहेको अवस्था छ । राजश्व कसरी बढाउने र तलबभत्ता साथै बिकास कसरी सँगसँगै लैजान सकिन्छ, यसबारे ध्यान पुग्न जरुरी छ । सरकारको कार्यशैली पनि आशातित छैन । भ्रष्ट्राचार, दण्डहिनता बढीरहँदा बिदेश पलायन हुने संख्या बढ्दो छ । संघिय प्रणालीकै पनि बिरोधमा स्वरहरु उठीरहेका छन । यस्तोमा नयाँ आशा सहितको भरोसा योग्य काम अब कांग्रेसले गर्नुपर्छ । हामी सबैको लक्ष्य त्यही भयो भने पुरा हुन गाहे छैन ।

Advertisement

प्रतिक्रिया