नुवाकोटमा रहेको सम्पदा बस्तीको निर्माण अन्तिम चरणमा

विदुर खबर २०७६ असार २६ गते ४:११

नुवाकोट असार २६, ऐतिहासिक साततले दरवार क्षेत्र वरपर निर्माण भइरहेको सम्पदा बस्तीको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

Advertisement

विदुर नगरपालिका–२ मा रहेको ऐतिहासिक तथा पुराताŒिवक सम्पदा सात तले राष्ट्रिय संग्राहलय वरपरका निजी घरलाई पुरानै शैलीमा निर्माण गरिएको हो । १२ वैशाख २०७२ को भूकम्पले क्षति पुगेका साततले दरवार क्षेत्र वरपरका घरलाई पुरानै शैलीमा निर्माणको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले चासो देखाएपछि अहिले धमाधम बस्ती निर्माणको काम भइरहेको छ । सम्पदा बस्तीमा चार सय २८ घरधुरी समेटिएको छ । नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले दुई सयभन्दा धेरै निजी घरहरू पुरानै शैलीमा निर्माण भइसकेको बताए ।

Advertisement

उनले निजी आवास अनुदान पाउने ४२८ घरलाई सम्पदा बस्तीमा समेटे पनि  सय घरलाई अनिवार्य भने नगरिएकाले यो संख्या घट्न सक्ने बताए । ‘लक्ष्य ४२८ घर नै परम्परागत शैलीमा निर्माण गर्ने भन्ने हो, रिमालले भने– ‘३५० भन्दा धेरै घर परम्परागत झल्को दिने खालका बन्छन् ।’ मौलिक पहिचान झल्कने खालक घरमा होमस्टे सञ्चालन पर्यटकीय आकर्षकको रूपमा विकास गर्न सकिने भएकाले परम्परागत घर निर्माणमा स्थानीयको चासो बढेको वडा नम्बर २ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । विशाल नेपालको पहिलो राजधानी, काठमाडौंबाट नजिकै रहेको नुवाकोट दरबार क्षेत्रको ऐतिहासिक र धार्मिक महŒवलाई जीवन्त राख्नका लागि सम्पदा बस्तीले महŒवपूर्ण भूमिका खेल्ने शाहीले बताए ।सदाबहार हावापानी, साततले दरबार, भैरवी मन्दिर, तलेजु भवानीको मन्दिर, त्रिदेशीय व्यापार मार्गलगायतले नुवाकोटको पहिचानलाई ब्युताउन सम्पदा बस्तीको महिमा महŒवपूर्ण रहेको स्थानीय महेन्द्रकुमार श्रेष्ठले बताए ।

मल्लकालीन तथा शाहकालीन समयका पुराताŒिवक सम्पदाहरू रहेका कारण यसबाटै आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने भएकोले दरबार क्षेत्रका गाउँलाई सम्पदा गाउँको रूपमा विकास गर्न लागिएको विदुर नगरपालिकाले जनाएको छ । सम्पदा गाउँमा घर बनाउँदा पुरानो शैलीलाई कायम राख्नुपर्ने र रातो रंगको झिंगटी आकारका जस्तापाताले छाउँनुपर्ने छ । सम्पदा गाउँलाई परम्परागत ढाँचाका भौतिक संरचनाहरू निर्माण गरेर ऐतिहासिक तथा पुराताŒिवक स्थलको रूपमा पहिचान कायम राख्नको सम्पदा बस्ती निर्माणले भूमिका खेल्ने स्थानीयको बुझाइ छ । सम्पदा बस्ती निर्माणको लागि नुवाकोट सम्पदा संरक्षण मञ्चले नक्सा निर्माण र नक्सा पास गर्ने काममा स्थानीयलाई सहयोग गरिरहेको छ । विदुर नगरपालिकाले सम्पदा बस्तीमा निर्माण हुने परम्परागत घरका लागि थप ४० हजार रुपैयाँ अनुदान दिने र निःशुल्क नक्सा पास गरिदिने प्रतिवद्धता व्यक्त गरेको छ ।

Advertisement

सम्पदा बस्तीमा निर्माण हुने हरेक घरले पुर्ननिर्माण प्राधिकरणमार्फत निजी आवास अनुदानका लागि प्राप्त हुने तीन लाख रुपैयाँमा थप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसबाहेक बस्तीमा निर्माण भएका घरसंंख्या जोडेर सार्वजनिक भौतिक पूर्वाधार विकासको लागि चार लाख रुपैयाँको दरले एकमुस्ट अनुदानसमेत प्राप्त गर्ने छन् । अनुदान रकम व्यक्तिगत नभई सम्पदा बस्तीको खानेपानी, सडक, मठमन्दिरलगायतका पूर्वाधार विकासमा खर्च हुने अध्यक्ष रिमालले बताए । सार्वजनिक भौतिक पूर्वाधार विकासको लागि डीपीआरसमेत तयार भइसकेको छ ।

प्रतिक्रिया