छविले ‘कानको जाली फुट्ने गरी’ कुटेपछि शिल्पा प्रहरीमा

विदुर खबर २०७६ असार २५ गते १२:५२

नुवाकोट असार २५, अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमान् अर्थात् निर्माता छवि ओझाविरुद्ध प्रशासनमा उजुरी दिनुको रहस्य खुलेको छ।छविले कानको जाली फुट्ने गरी कुटपिट गरेपछि शिल्पा शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेपछि यो रहस्य बाहिरिएको हो।

Advertisement

शिल्पा अहिले आफूले दाइ मान्दै आएका फोटोग्राफर विकास रौनियारको घरमा आराम गरिरहेकी छन्। उनले प्रशासनमा उजुरी दिएको खबर चौतर्फी फैलिएपछि यसबारे बुझ्न उनको फोनमा सम्पर्क गर्दा विकासकी श्रीमती एवं फिल्म निर्देशक सम्झना उप्रेती रौनियारले फोन उठाइन्।  ‘शिल्पा अहिले फोनमा बोल्न नसक्ने अवस्थामा छिन्, त्यसैले मैले फोन उठाएकी हुँ,’ उनले भनिन्, ‘छविजीसँग उहाँको १५ दिनअघि नै झगडा भएको हो। छविजीले कानमै असर पुग्नेगरी पिट्नुभएछ। त्यसैले राम्रोसँग कान सुन्न सकिरहेकी छैनन्।’ झगडा १५ दिनअघि भए पनि शिल्पाले प्रशासनमा तीन दिनअघि उजुरी दिएको उनले बताइन्। ‘हिजो सामान्य छलफल भएको थियो, आज उहाँ (छविजी) सन्चो नभएको कुरा आयो, अब भोलिको छलफलले केही कुरा टुंगिएला,’ निर्देशक रौनियारले भनिन्। उता छविसँग यसबारे बुझ्न खोज्दा उनको फोन उठेन।

विश्वस्त स्रोतका अनुसार छवि अहिले ‘कुरा मिलाइदिन’ आग्रह गर्दै फिल्मसँग सम्बन्धित संघसंस्था गुहारिरहेका छन्। शिल्पाको फोनमा धेरैतिरबाट दबाब आइरहेको निर्देशक रौनियारले बताइन्। ‘उहाँ इन्डष्ट्रीकै बेइज्जत भयो भन्दै हिँडिरहनुभएको रैछ, घरमा श्रीमती पिट्दाचाहिँ बेइज्जत नहुने, खबर बाहिर आउँदाचाहिँ बेइज्जत हुने, कस्तो अचम्म,’ उनले आश्चर्य प्रकट गरिन्। शिल्पाले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि जिल्ला प्रशासनले उक्त पत्र महानगरीय प्रहरी परिसर काठमाडौंलाई पठाउँदै आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।

Advertisement

काठमाडौं परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने, ‘प्रशासनबाट पत्र आएको छ। दुवै जनालाई बोलाएर छलफल गर्छौं। त्यसपछि थाहा होला के भएको रहेछ।’ शिल्पा निर्माता ओझाकी चौथो श्रीमती हुन्। उनीहरुले दुई वर्षअघि नै सुटुक्क बिहे गरेका थिए। बिहेको साक्षी विकास रौनियार र सम्झना उप्रेती रौनियार पनि थिए। तर दुवैले एक महिनाअघि मात्र बिहे स्वीकार गरेका थिए।  त्यसअघिसम्म शिल्पासमेत बिहे भएको स्वीकार्न तयार थिइनन्। अहिले बिहे स्वीकार गरेको दुई महिना नकट्दै फेरि झगडाको खबर बाहिरिएको छ। शिल्पा निकट स्रोत अनुसार अब उनी छविसँग सम्बन्ध अघि बढाउने मुडमा छैनन्।

प्रतिक्रिया