भट्टको सरकारलाई विश्वासको मत प्राप्त

विदुर खबर २०७४ फागुन २२ गते १६:१४

धनगढी । प्रदेश नं ७ को सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ बमोजिम मंगलबार प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् ।

Advertisement

प्रदेश सभा भवन धनगढीमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा ३८ प्रदेशसभा सदस्यले मत जाहेर गरेका छन् । प्रस्तावको विपक्षमा १० मत परेको थियो ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा मुख्यमन्त्री भट्टले नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ र प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि, २०७४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

Advertisement

उक्त प्रस्तावमा प्रदेश सभा सदस्यद्वय नेकपा माओवादी केन्द्रका वीरभान चौधरी र नेकपा एमालेका तारा लामा तामाङले समर्थन जनाएका थिए ।

सभामुख थापाले प्रस्तावको पक्षमा ३८ मत परेको र उक्त संख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत रहेकाले मुख्यमन्त्री भट्टको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

Advertisement

प्रस्तावको पक्षमा एमाले र माओवादी केन्द्र उभिएका थिए भने विपक्षमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी थिए । प्रदेश सभामा कूल ५३ प्रदेश सदस्यमध्ये आजको बैठकमा ४९ सदस्य उपस्थित रहेकामा कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम र गोविन्दराज बोहरा अनुपस्थित थिए ।

बैठकमा प्रस्तुत प्रस्तावमाथि भएको छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुले प्रदेशका विभिन्न समस्याको समाधानमा सदनको ध्यानाकर्षण गराउँदै प्रदेशको समुन्नतिका लागि सबैले हातेमालो गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया